खानेपानी संस्थानमा २५ करोड घोटाला, मन्त्रालयले थाल्यो छानबिन

काठमाडौं । नेपाल खानेपानी संस्थानमा पाइप खरिद प्रक्रियामा २५ करोड घोटाला भएको उजुरी खानेपानी मन्त्रालय र अख्तियारमा परेको छ । 

२५ करोड घोटाला भएको उजुरी मन्त्रालयमा परेपछि मन्त्रालयले छानबिन सुरु गरेको हो । 

मन्त्रालयले कानुन उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा मन्त्रालयका इन्जिनियरद्वय दिनेश अधिकारी र शेखर खनाल, लेखा अधिकृत राजेन्द्र प्रसाद घिमिरे र नेपाल खानेपानी संस्थानका विष्णु सुब्बा सदस्य रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

पाँच सदस्यीय छानबिन समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छानबिन समिति संयोजक गुणराज श्रेष्ठले जानकारी दिए ।

मन्त्री बिना मगरका निजी सचिव दिनेश सागर भुसालले भने, ‘अख्तियारले समेत छानबिनका लागि निर्देशन दिएको र मन्त्रालयमा संस्थानका बारेमा नियमितजसो गुनासो आउन थालेपछि छानबिन प्रक्रिया सुरु गरिएको हो ।,’ 

खानेपानी संस्थानका लागि पाइप खरिद गर्दा महानिर्देशक भुपेन्द्र प्रसादले २५ करोड घोटाला गरेको उजुरी अख्तियार र खानेपानी मन्त्रालयमा परेको हो । भुपेन्द्र प्रसाद

देउवा सरकारको पालामा संस्थानको शाखा प्रमुखबाट महानिर्देशक बनेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?