काठमाडौं। फिफा विश्वकपको समूह ‘बी’ को दोस्रो चरणको खेलमा आज साँझ पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह चरणको पहिलो खेलमा पूर्व च्याम्पियन स्पेनलाई सनसनीपूर्वक ३–३ गोलको बराबरीमा रोकेको पोर्चुगलले आज मोरक्कोबिरुद्ध मस्कोको लुज्निकी रंगशालामा खेल्दैछ । यि दुई टिमविचको खेल नेपाली समयअनुसार आज साँझ ५ः४५ बजेपछि सुरु हुदैछ ।
पोर्चुगलले प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन मोरक्कोलाई हराउँनै पर्ने बाध्यता छ । युरो च्याम्पियन पोर्चुगल आफ्ना कप्तान क्रिस्टियानो रोनाल्डो उत्कृष्ट फर्ममा भएकाले उत्साहित देखिएको छ । स्पेन विरुद्धको खेलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए ।
यता इरान विरुद्धको खेल १–० ले गुमाएको मोरक्कोले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । आत्मघाती गोल हुँदा खेल गुमाएको मोरक्कोले दुई दशकपछि विश्वकपमा फर्कदा राम्रो सुरुवात गर्न सकेन् । अहिलेसम्म विश्वकपमा १४ खेल खेल्दा मोरक्कोले २ मा मात्र जित हात पारेको छ ।
पाँच पटक विश्वकपमा सहभागी भएको मोरक्कोले आज पोचुर्गल विरुद्धको खेलमा जितको खोजीमा हुनेछ । सन् १९८६ मा मोरक्कोले पोर्चुगललाई ३—१ गोलले पराजित गरेको थियो । मोरक्को विरुद्धको दोस्रो खेलमा धैर्यतापूर्वक खेल्दै अंक बटुल्ने अभियानमा पोर्चुगल छ ।
तर मोरक्कोको रक्षापंक्ति भत्काउन भने पोर्चुगललाई मिहिनेत गर्नु पर्ने देखिन्छ । मोरक्को र पोर्चुगल एक पटक मात्र आमने—सामने भएका छन् ।
पोर्चुगलले विश्वकपको समूह चरणमा खेलेका पछिल्ला १० खेलमा १ खेलमा मात्र हार व्यहोरेको छ । सन् २०१४ मा जर्मनीसँग ४–० को पराजयबाहेक पोचुर्गलले ५ जित र ४ मा बराबरी खेलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया