पूर्व विश्व च्याम्पियन स्पेन विश्वकपको नकआउट चरण नजिक, इरान पराजित

रसिया। पूर्व विश्व च्याम्पियन स्पेनले जारी फिफा विश्वकप फुटबलमा पहिलो जित हात पादै नकआउट चरण नजिक पुगेको छ । 

भिडियो असिस्टेन्ट रेफ्री भारले इरानको गोललाई अफसाइड दिएपछि समूह ‘बी’ मा रहेको स्पेनले इरानलाई १—० गोल अन्तरले हराउँदै जित आत्मसाथ गरेको हो । खेलको ५४ औ मिनेटमा स्पेनका लागी डिएगो कोष्टाले गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो । इरानका डिफेण्डर रविन रेजाइनले बल क्लियर गर्न लाग्दा कोष्टाको खुट्टामा ठोक्किएको बल डिफ्लेक्ट भएर गोल हुन पुगेको थियो ।

यो गोलसँगै विश्वकपमा कोष्टाले गोलसंख्या ३ पुर्याएका छन् । यसअघि पोर्चुगलसँग बराबरी खेल्दा उनले २ गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोल रहित बराबरीमा रोकिएका थिए ।

खेलको ६२ औं मिनेट इरानी समर्थकका लागि निराशाजन क्षण हुन पुग्यो । इरानका सेइद इजाटोलाहीले फ्रिकिक बललाई हेडमार्फत गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले गोलको मान्यता दिएनन् । पहिलो हाफसम्म निकै आक्रामक खेल खेलेको इरानले दोस्रो हाफमा भने निकै सुस्त खेल खेलेको थियो ।

समूह चरणको पहिलो खेलमा पोर्चुगलबिरुद्ध ३—३ गोलको बराबरी खेलेको स्पेनले इरानलाई हराएर विश्वकपको प्रि—क्वाटरफाइनल नजिक पुगेको हो ।

जितसँगै समूह ‘बी’ मा स्पेनले ४ अंक बनाएको छ भने बुधबार साँझ भएको खेलमा मोरक्कोलाई हराएको पोर्चुगलको पनि समान ४ अंक नै  छ । समूहमा लगातार दुई पराजय ब्यहोरेको मोरक्को भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा मोरक्कोबिरुद्ध अन्तिम मिनेटमा जित निकालेको इरानको ३ अंक छ ।

अब समूहको अन्तिम खेलमा स्पेनले मोेरक्कोसँग र  पोर्चुगलले इरानसँग प्रतिस्पर्धा गर्नेछ । यही खेलको विजेता र उपविजेता समूह ‘बी’ बाट नकआउट चरणमा प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?