बागलुङ । भौतिक पूर्वाधार र सामग्रीको अभावमा बागलुङका खेल प्रशिक्षक कामविहीन बनेका छन् ।
सरकारी तलब खाने प्रशिक्षक वर्षौंदेखि फुर्सदिला देखिन्छन् । जिल्ला खेलकूद विकास समिति अन्तर्गत एक प्रशिक्षक र ६ सहायक प्रशिक्षक गरी सात खेलका प्रशिक्षक छन् जसमा भारत्तोलन, ह्याण्डबल र जिम्न्यास्टिकको प्रशिक्षण अहिले बन्द छ ।
पूर्वाधारको कमीले प्रशिक्षण चलाउन नसकिएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । समितिको नाममा रहेको एउटा मात्र ‘टेबुल टेनिस कर्भड हल’ पनि अहिले निर्माणको चरणमा छ । जीर्ण कर्भड हल भत्काएर नयाँ बनाउन थालेपछि टेबुल टेनिसको प्रशिक्षण पनि चल्न सकेको छैन । व्यवस्थित कर्भड हल र खेल मैदान नहुँदा खेलकुद अस्तव्यस्त बनेको समितिका अध्यक्ष धनबहादुर परियारले बताए ।
मार्शल आर्टतर्फ तेक्वान्दो, कराँते र उसुको भने नियमित प्रशिक्षण चलिरहेको परियारले जानकारी दिए । जिल्लामा सबैभन्दा बढी मार्शल आर्टकै खेलाडी उत्पादन हुँदै आएका छन् । अन्य खेलमा भने नयाँ खेलाडी उत्पादन ठप्प छ । कुनै खेलका प्रशिक्षक छन् तर खेलाडी छैनन् । कुनैमा खेलाडी भएपनि प्रशिक्षक छैनन् ।
सबैभन्दा सम्भावना भएको भलिबल, क्रिकेट, सुटिङ, एथलेटिक्स लगायतका खेलमा प्रशिक्षक नै छैनन् जब कि जिल्लामा खेल्दै नखेलिने जिम्न्यास्टिक, ह्याण्डबल र भारत्तोलनका प्रशिक्षक छन् ।
खेल मैदान नहुँदा ह्याण्डबल खेलाउन नसकिएको सहायक प्रशिक्षक भीमसेन शाक्यले बताए । जिम्न्यास्टिक खेलको प्रशिक्षण त वर्षौंदेखि बन्द भएको पनि उनले जानकारी दिए । उक्त खेलका लागि चाहिने ‘म्याट’ थोत्रिएपछि प्रशिक्षण चलाउन नसकिएको समितिका अध्यक्ष परियारले बताए । राष्ट्रिय खेलकुद परिषदले दिएको म्याट जीर्ण भएर खेल्न नमिल्ने अवस्थामा छ । भारत्तोलनका सामग्री पनि जीर्ण भएर काम नलाग्ने भइसकेको छ ।
जिल्लामा भारत्तोलनको प्रशिक्षकमा विकासकुमार शाक्य, ह्याण्डबलमा भीमसेन शाक्य, टेबुल टेनिसमा सुख शाक्य, उसुमा दिलबहादुर किसान, तेक्वान्दोमा परशुनारायण बोहोरा, जिम्न्यास्टिकमा राजेश बाँस्कोटा र कराँतेमा धनदास महर्जन रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया