इथियोपिया । नवनिर्वाचित इथियोपियाली प्रधानमन्त्री अविय अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछि सम्बोधनका क्रममा भएको विष्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको यहाँको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ ।
इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित ¥यालीमा दशौँ हजार समर्थक तथा शुभेच्छुक सहभागी भएका थिए । जुलुसपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम अनुसार अवियले सम्बोधन गरिरहेका समय विष्फोट गराइएको थियो ।
राजधानीको मुटुमा आयोजना गरिएको सभामा विष्फोट भएपछि प्रधानमन्त्रीले आफ्नो सम्बोधनलाई बिचैमा राकेर घटनास्थलबाट बाहिरिएका थिए भने विष्फोटबाट आत्तिएका कार्यक्रमका सहभागी मञ्चतर्फ बढेका थिए, प्रत्यक्षदर्शीसमेत रहेका एएफपीका सम्वाददाताले बताए ।
जुलुसमा भएको अपार सहभागितालाई छायाँमा पार्ने उद्देश्यले विपक्षी समूहले विष्फोट गराएको हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै राज्य सञ्चालित समाचार संस्था फाना ब्रोडकास्टिङ कर्पोरेटले जनाएको छ ।
मृतक सबै जनाले माया र शान्तिका लागि शाहदत प्राप्त गरेका छन्, अवियलाई उद्धृत गर्दै फानाले जनाएको छ । विष्फोटको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिएको छैन । सभास्थल मास्केल स्क्वाएरलाई खुला बनाउने क्रममा प्रहरीले अश्रुग्यास हानेको छ ।
गत अप्रिलमा जिम्मेवारी सम्हालेका अवियले आफू निर्वाचित भएपछि पहिलोपटक राजधानीमा सम्बोधन गर्दै थिए । यद्यपि उनले प्रान्तीय सभाहरूमा भने सहभागी भइरहेको थिए ।
बितेका तीन महिनामा नयाँ प्रधानमन्त्रीका रूपमा उनले सुरक्षा सेवा, पूर्व सरकारद्वारा कैदमा लिएका राजनैतिक वन्दी, अर्थतन्त्रको उदारीकरण र दुई दशकदेखि इथियोपियासँग द्वन्द्वरत इरिट्रियासँगको विवाद समाधान लगायतका बिषयमा व्यापक परिवर्तन ल्याएको बताइँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया