रसिया। सेनेगल र जापान जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बराबरीमा रोकिएका छन् ।
एकाटेरिङवर्ग स्टेडियममा भएको समूह (एच) को खेलमा अफ्रिकी मुलुक सेनेगलले एसियन राष्ट्र जापानलाई २—२ गोलको बराबरीमा रोकेको हो । बराबरी पछि समान ४—४ अंक बनाएको सेनेगल र जापानले अघिल्लो चरण प्रवेशको सम्भाबनालाई बलियो बनाएको हो । खेल सुरु भएको ११ मिनेटमा नै सेनेगलका लागी साडियो मानेले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए ।
मानेले गोल गरेपछि निकै आक्रामक रुपमा खेल खेलेको जापानले ३४ औ मिनेटमा ताकासी एन्उईको गोलबाट खेललाई बराबरीमा ल्याए । यो समूहको बलियो मानिएको दुवै टिम पहिलो हाफसम्म १—१ गोलको बराबरीमा रोकिएका थिए । दोस्रो हाफमा जापानको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै सेनेगलले गोल गर्यो ।
७१ औ मिनेटमा मौसा वएगले गोल गर्दै खेललाई २—१ को स्थितीमा पुर्याए । तर सेनेगलले धेरै बेर अग्रता लिन सकेन् । जापानका लागी ७८ औ मिनेटमा केइसुके होन्डाले गोल गर्दै खेललाई २—२ गोलको बराबरीमा ल्याउन सफल भए । निर्धारित समयसम्म दुवै टिमले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् र खेल बराबरीमा सकियो ।
यसअघि भएको पहिलो खेलमा जापानले कोलम्बियालाई २—१ ले तथा सेनेगलले पोल्याण्डलाई २—१ गोलले पराजित गरेको थियो । अब समूहको अन्तिम खेलमा जापानले पोल्याण्डको तथा सेनेगलले कोलम्बियाको सामना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया