काठमाडौं। जारी २१ औ संस्करणको फिफा विश्वकपको समूह ‘ए’ बाट आयोजक राष्ट्र रसिया र उरुग्वे नकआउट चरणमा प्रवेश गरिसकेका छन् ।
यि दुई टिमविचको खेल सामरा एरिनामा नेपाली समयअनुसार आजराति ७ः४५ बजेपछि सुरु हुँदैछ । आजको खेलमा जित हात पार्ने टोली समूह ‘ए’ को विजेता बन्नेछ । रसियाले समूह चरणको पहिलो खेलमा साउदी अरेवियालाई ५—० गोल अन्तरले तथा दोस्रो खेलमा इजिप्टलाई ३—१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।
दुवै टिममाथि जित हात पारिसकेको र घरेलु समर्थक पाएको रसिया उरुग्वेलाई पराजित गर्दै समूह विजेता बन्न चाहान्छ । रसियाका लागि भने यो उत्साहलाई कायम राखिराख्नु चुनौति हुनेछ ।
इजिप्टबिरुद्धको खेलमा खुट्टाको चोट बोकेका लेफट–ब्याक युरी झिर्कोभले उरुग्वेबिरुद्धको खेल गुमाउनेछन् । त्यस्तै, डेनिस चेरिचोभले जारी विश्वकपमा रसियाका लागी सर्वाधिक ३ गोल गरेका थिए ।
यता उरुग्वेले पहिलो खेलमा इजिप्ट र दोस्रो खेलमा साउदी अरेवियालाई समान १—० गोल अन्तरले पराजित गरेको थियो । फर्नाण्डो मुस्लेराले आजरातिको खेलबाट उरुग्वेका लागि १०० क्याप खेल्दैछन् । साथै मुस्लेरा उरुग्वेका लागि सयौ क्याप खेल्ने सातौं खेलाडी समते बन्नेछन् ।
उरुग्वेले प्रि—क्वार्टरफाइनलको खेलमा स्पेन वा पोर्चुगलमध्ये एकसँग भिड्नेछ । रसिया र उरुग्वे अहिलेसम्म ८ पटक आमने—सामने भइसकेका छन् । जसमा रसियाले ६ खेलमा जित दर्ता गराएको थियो ।
यता, आजै साँझ समूह ‘ए’ मा नै रहेको इजिप्टले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । भाल्गोगार्ड एरिनामा हुने खेलमा दुवै टिम जितको खोजीमा हुनेछ । इजिप्ट र साउदी अरेबिया भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया