ग्रेट हिमालयले जित्यो सान क्रिकेटको उपाधि

काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमीले कागेश्वरी मनोहरा यू– १६ टी–२० सान क्रिकेट कपको उपाधि जित्न सफल भएको छ ।

सोमबार भएको फाइनल खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेक्सस एकेडेमीमाथि ५ विकेटको जित हात पार्दै उपाधि हात कब्जा जमाएको हो । कीर्तिपुर क्रिकेट मैदानमा वर्षाले प्रभावित गरेपछि १० ओभरमा झारेको प्रतियोगिताको फाइनलमा टस जितेर ब्याटिङ रोजेको नेक्ससले ९.४ ओभरमा सबै विकेट गुमाउँदै ४४ रन मात्र बनाउन सफल भयो । नेक्ससका शाहिल पटेलले १२ बलमा ११ जोड्नुबाहेक अन्य खेलाडी सस्तैमा आउट भएका थिए ।

ग्रेट हिमालयका विवेक यादवले २ ओभरमा ७ रनका साथ २ विकेट लिए । त्यस्तै अभिषेक थापाले १.४ ओभरमा ८ रनमा २ विकेट, रामसुरत यादवले २ ओभरमा ४ रन १ विकेट, पीयुष केसी २ ओभर एक मेडन, ८ रन १ विकेट, विज्ञान गौतम २ ओभर ९ रन एक विकेट लिए ।

४५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको हिमालय क्रिकेट एकेडेमीले ९.१ ओभरमा ५ विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गर्यो। विवेक यादवले १४ बलमा १६ रन र अभिषेक थापाले २५ बलमा १५ रन जोडे ।

नेक्ससका सुवास विक २ ओभर ५ रन १ विकेट, तृतराज दासले २ ओभरमा ९ रन १ विकेट, आविष्कार जोशीले २ ओभरमा ११ रन १ विकेट र चिराग शाहीले २ ओभर १२ रन १ विकेट लिए ।
प्रतियोगितामा  ग्रेट हिमालयका विवेक यादव म्यान अफ दी म्याच घोषित भए ।

उपाधिसँगै ग्रेट हिमालयले  ३० हजार नगद तथा दोस्रो भएको नेक्ससले  २० हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?