नेपाली कांग्रेसले सरकारलाई सधै सर्वसत्तावादतिर उन्मुख हुँदै गएको आरोप लगाउँदै आएको छ । यसपटकको चुनावमा नराम्रोसँग हार बेहोर्नुको दोष धेरैले पार्टी सभापति शेरबहादुर देउवालाई लगाउँदै आएका छन् । पार्टीभित्रै गुट-उपगुटको राजनीति हाबी हुँदा पार्टीको भविष्य धर्मराएको छ । पार्टीभित्र नै नेतृत्वलाई लिएर चर्को विरोध र बहस शुरु भएको छ । पार्टीको सांगठनिक संरचना, विधान संशाेधन, भातृ संगठन र अन्य शुभेच्छुक संगठनको पुनसंरचना र भावी नेपाली काङ्ग्रेस कस्तो हुने भन्ने बारेमा छलफल गर्नका निमित्त नेपाली काङ्ग्रेस, जिल्ला सभापतिहरुको राष्ट्रिय भेला २१ बुँदे हेटौंडा घोषणा पत्र जारी गर्दै सकियो । भेलामा वर्तमान सरकारले मुल्यवृद्धि गरेको, प्रेसमाथि अंकुश लगाएको र जनताका आवश्यकता तथा मागहरू पूरा गर्न सरकार असामर्थ्य रहेको जस्ता विषयहरु पनि उठे ।
एकातिर जनताका माग उठिरहेका बेला अर्कातिर नेपाली काङ्ग्रेसभित्रै भएको कमी कमजोरी, विकृति विसङ्गति र गुट/उपगुटको राजनीतिको बारेमा पनि छताछुल्ल भएको छ । यो द्वन्द्व र बहसबीचको खास कुरा चाहिँ के हो भनेर बुझ्न नेपाली काङ्ग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीसँग लोकपथकर्मी अनिता आचार्यले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरेका छौंः
सभापतिहरूको राष्ट्रिय भेलामा के देख्नुभयो ?
जिल्ला सभापतिहरूको यो चौथो राष्ट्रिय भेला हो । निर्वाचनमा पार्टीले सामना गर्नुपरेको असफलतादेखि पार्टीभित्र हुने रणनीतिक तौर तरिकाका बारेमा सबैले दिएकोे अभिव्यक्ति करीब एउटै थियो । सबैका अनुसार पार्टीले सही ढङ्गबाट आफ्नो नीतिलाई अवलम्बन गर्न नसकेका कारण हार बेहोर्नु परेको हो ।
भेलामा बोल्ने सबै वक्तामध्ये यहाँ सबैभन्दा कड्केर बोल्नुभएको थियो नि । चित्त नबुझेका कुरा धेरै छन् हो ?
मेरो संस्थाको सभापति शेरबहादुर देउवा । व्यक्तिगत हिसाबले म उहाँको विरोधी होइन । तर एउटा संस्थाको नेतृत्त्व गरिसकेपछि त्यसको कमी कमजोरी, क्रियाकलाप, त्रुटिहरूलाई मध्यनजर गर्दै भावी योजना के–कसरी बनाउने भन्ने जिम्मेवारी नेतृत्त्वकर्ता कै हुन्छ । हाम्रा सभापति यस विषयमा सफल नभएको महसुस गरेपछि मैले सभामा कसैसँग नडराई, कुन नेताले के सोच्ला, कसले नजिकको ठान्ला, कसले टाढाको ठान्ला आदि जस्ता कुराहरूबाट प्रभावित नभई आफ्नो क्लियर कुरा मात्र राखेको हुँ ।
मैले सभामा महाभारतको उदाहरण पनि प्रस्तुत गरेको थिएँ । कौरव र पाण्डवबीच युद्ध रोक्न सक्ने क्षमता धृतराष्ट्रसँग मात्र थियो । किनकि, उनी दुवै पक्षका साझा व्यक्तित्व थिए । तर सञ्जयजस्तो असल मान्छेको कुराभन्दा पनि शकुनिजस्तो खराब मान्छेको कुरामा आएर उनले गलत पक्षको साथ दिए । परिणामस्वरुप महाभारतको विनाशकारी युद्ध भएरै छाड्यो । त्यसैले यही इतिहास नदोहोरियोस् भनेर मैले सभापति ज्यूलाई बेलैमा सचेत बनाएको हो ।
तपाईंको सभापतिले तपाईंले दिएको सुझाव मान्नुहुन्छ होला त ?
सभापति ज्यूले समापन मन्तव्यमा बोल्नुभयो, सबैले प्रस्तुत गरेका गुनासोहरूप्रति माफी माग्नुभयो, आफ्नो गल्ती स्वीकार्नु भयो । स्थानीय निर्वाचनमा जिल्ला सभापतिहरूलाई भूमिकाहीन बनाउनु पनि निक्कै गलत भएको धारणा राख्नुभयो । केही हिच्किचाहट नमानी स्वतस्फूर्त आफ्नो कमी कमजोरीलाई स्वीकार्नुभएकाले पनि आगामी दिनमा केही सुधार देखिन्छ कि भन्ने आश छ ।
काङ्ग्रेस विषम परिस्थितिबाट गुज्रेकै हो त?
विपी कोइराला अत्यन्तै दुरदर्शी व्यक्ति हुन् । उनले भनेको कुरा अहिले पनि मेरो मानसपटलमा घुमिरहेको छ । उनका अनुसार लोकतन्त्र आइसकेपछि पार्टीभित्रका पुराना, दुःख, संघर्ष गरेका कमिज र सुरुवाल लाउनेहरू पुनः हेपिनेछन्, दबिनेछन्, चेपिनेछन् । त्यो बेला चिल्ला गाडी चढ्नेहरू, सुकिला–मुकिला लाउनेहरू हाबी हुनेछन् । र, एकपटक फेरि काङ्ग्रेसका असल कार्यकर्ताहरूको संघर्षपछि मात्र लोकतन्त्रको सथापना हुनेछ । प्रचारबाजी, टिकट वितरण आदिजस्ता पार्टीका आन्तरिक क्रियाकलाप नियाल्दा वर्तमान समयमा म उनकोे भनाई सार्थक देखिरहेको छु ।
आफूलाई लोकतन्त्रको ठूलो हिस्सेदार मान्ने काङ्ग्रेसभित्रै पनि गुट/उपगुटको विभाजन रहेछ है ?
यस्तो विभाजन नेपाली कांग्रेसमा मात्र नभएर सबै पार्टीमा छ । तर हाम्रो पार्टीको सन्दर्भमा चाहिँ अलि बढी नै चर्चा भएको मात्र हो ।
हामीले अस्ति सभापति भेलामा पनि भन्यौं, तपाईं काङ्ग्रेसका सभापति हुनुहुन्छ । गुट–उपगुटको सिर्जना गर्ने, गिरोहमार्फत् पार्टी चलाउने नगर्नुस् । योभन्दा माथि उठेर नेतृत्त्व गर्नुपर्छ । तपाईंका वरिपरि घुम्ने गणेशलाई मात्र होइन सुमेरु पर्वत परिक्रमा गर्न गएको कुमारलाई पनि हेर्नुहोस् ।
गुट/उपगुटको कुरा गरिरहँदा यो भातृ संगठनको भविष्य चाहिँ कस्तो देख्नुहुन्छ ? सधैँ टायर बाल्ने मात्र हो ?
भातृ संगठनले आफ्नो वर्गीय हितको कुरा पनि उठाउँछ, जनताका हितका निमित्त पनि कुरा उठाउँछ साथै सरकारको क्रियाकलापमा चित्त नबुझेको खण्डमा पनि आवाज उठाउँछ ।
०६२–६३ को आन्दोलनमा पनि नडराई, नडगमगाई, गोली खाएर भएपनि हामीले सफलता हासिल गरेर आएका हौँ । हिजो सेनासँग लडियो, राजासँग लडियो । त्यसैले कम्युनिष्टसँग लड्नुपर्दा पनि अब कुनै समस्या छैन ।
कांग्रेसप्रति युवाहरूको ठूलो गुनासो छ । हाम्रा मागहरूलाई पूरा गर्ने त परको कुरा हामीले सोधेको प्रश्नको राम्रो तरिकाले उत्तरसमेत दिँदैन भन्ने छाप उनीहरूमा परेको छ भन्नुभएको थियो नि यहाँले ?
हजुर । साझा सवालको प्रसङ्ग आयो । एउटा युवक केटोले राम्रै प्रश्न गरेको थियो । ‘तपाईंको विचारमा मेरो सकारात्मक धारणा छ । नेपालमा पनि त्यही स्तरको यूनिभर्सिटी बनाउनलाई हामी लागिपरेका छौँ । त्यहाँकै प्रोडक्ट भोलि गएर प्रधानमन्त्री हुन सक्ला ।’ यस्तै भनेर देउवा ज्यूले जवाफ दिनुभएको भए पनि हुन्थ्यो । तर उहाँको त्यस्तो प्रस्तुतिले युवाहरू कांग्रेसप्रति विकर्षित भए ।
महाअभियोग प्रस्तावको बारेमा पनि उहाँले गल्ती गर्नुभयो । यस्ता मुद्दा छताछुल्ल बाहिर आउनुभन्दा अघि पार्टीमा आन्तरिक छलफल हुनपर्छ । यस्ता कुराहरूले नै कांग्रेसलाई दिन प्रतिदिन कमजोर बनाउँदै लगेको हो । अब आफ्नो गल्तीलाई जनताका सामु स्वीकारेर आफूलाई सुधार्दै लग्ने प्रतिबद्धता जनाउनु बाहेक अरु विकल्प छैन ।
नेपाली कांग्रेस प्रतिपक्षीको भूमिकामा भन्दा पनि आन्तरिक सहमतिको नाममा विधान विपरीत गइरहेको देखिन्छ ।
विधान विपरीतका विषयलाई सच्याउनै पर्छ । हामीले सभापति ज्यूलाई पनि स्पष्ट भनिसक्यौँ । उहाँले पनि यी सबै कुरालाई स्वीकार गरिसक्नुभयो । पार्टीको सभापतिजस्तो मान्छेले त्यति महसुस गरिसकेपछि अब उहाँले आफ्नो क्रियाकलापलाई सुधार्नुहुन्छ भन्ने कुरामा म हिजोभन्दा अलि बेसी आशावादी छु । उहाँलाई सल्लाह सुझाव दिने पार्टीका केन्द्रीय सदस्यभन्दा जिल्ला सभापतिहरूको हैसियत धेरै माथि पुगिसकेछ भन्ने कुरा उहाँले महसुस गरिसक्नुभयो ।
कांग्रेसमा किन बारम्बार गुट/उपगुट, अन्तर्घातको कुरा आइरहन्छन् ?
पार्टीको ठूलो पीडा भनौँ या सङ्कट भनौँ यो अन्तर्घातका कुराहरू निर्वाचनको बेलामा भयङ्कर रुपमा उठेका छन् ।
हाम्रो सभापति ज्यूले यस्तो घात गर्नेलाई कारवाही गर्ने भन्नुभएको छ । तर कहिले ? निर्वाचनका बेला उम्मेदवारलाई कहीँ कसैले असहयोग ग–यो वा भित्रभित्रै घात गर्दैछ भन्ने सुइँको समेत पाइएमा तत्कालै उसलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेमा अन्य घात गर्नेहरू पनि इमान्दारिताका साथ लाग्छन् नि । अहिले निर्वाचन सकिसक्यो, हारजित भइसक्यो, सरकार बनिसक्यो । अहिले लिएको एक्सनले केही अर्थ राख्दैन । जसले निर्वाचनमा भोट नहाल भन्दै अरुलाई भड्काउने काम गर्छ, उसैलाई देउवाले पदाधिकारी बनाउनुहुन्छ अनि कारबाही चाहिँ कसलाई गर्नुहुन्छ ?त्यसैले कसैले घात गरेको पाइएमा तत्कालै कारबाही हुनुप–यो र मेचीदेखि महाकालीसम्म भएका कांग्रेस पार्टीसँग आबद्ध सम्पूर्ण नेताहरूको भाषा एउटै हुनप–यो । ताकि पार्टीको सिद्धान्तलाई लिएर कार्यकर्ता अन्योलमा नपरुन् ।
काठमाडौँबाट टोखा झोर हुँदै नुवाकोट रसुवा पुग्ने मोटरबाटोमा मोटरबाइक पूरै हिलोमा गाडिने अवस्था छ । त्यहिँ राजनीति गर्नुहुन्छ । यहाँ त्यही बाटो आवतजावत गर्ने । देख्नुभाको छ पक्कै पनि । यो कस्तो राजनीति ?
वि.सं. ०७० सालमा अर्जुन (अजुर्न नरसिंह केसी) दाइ पार्लिमेन्टमा १ नम्बर प्रदेशबाट जितेर आएर शहर विकास मन्त्री हुनुभयो । त्यही बेला सो बाटो निर्माणका निमित्त १९ करोडको टेन्डर ल्याएँ । निर्माण शुरु भयो तर पूरा हुन सकेन । अहिले ०७५ सालसम्म आइपुग्दा ठेकेदार कुन महासागर, कुन दुलोमा लुकेर बसेका छन् थाहा छैन ।
त्यो समयमा तपाईंहरूकै सरकार थियो । नेताहरूले साबेल लिएर बाटो बनाउन नगए पनि निगरानी गर्ने जिम्मा त नेताहरूकै होइन र ?
निगरानी नगरेको होइन । हिउँदमा बाटो राम्रो हुँदा कसैको ध्यान जाँदैनथ्यो । वर्षा लागेपछि सम्बन्धित निकायमा ताकेता भइरहने । तर डेडलाइन्ससम्म काम पूरा नहुँदा त्यो ठेकेदारलाई कालो सूचीमा राखेर अर्को ठेकेदार ल्याएर काम सुम्पिन सक्नु प–यो नि ।
तर यहाँ आर्थिक चलखेल हुन्छ । ठेकेदारलाई १ अर्बको टेन्डर पर्दा २० प्रतिशत मोबिलाइजेसन आउँछ । ऊ त्यो २० करोड लिएर जग्गाको प्लटिङ गर्छ । अर्को वर्ष जग्गाको दाम दोब्बर–तेब्बर हुन्छ । आफूले नाफा कमाएपछि अनि त्यो २० प्रतिशत फिर्ता गरेर बाटोको ठेक्का नै छोडिदिन्छ । अनि निर्माण कार्य स्थगित ।
एउटा नबुझेको कुरो नि, हाम्रो देशमा सरकारले ठेकदार चलाउने कि ठेकदारले सरकार चलाउने?
यहाँ पैसाले सबै थोक चलाउने । हेर्नुस्, मैले इमान्दारीपूर्वक भनेको आखिर सबैलाई चाहिने चीज त्यही रहेछ ।
यहाँको जिल्लाको सांगठनिक संरचनाको बारेमा भन्दिनुस् न ।
मेरो जिल्ला नुवाकोटमा अहिले कांग्रेसको सबैभन्दा सशक्त संगठन छ । म सभापति भइसकेपछि यो पटक मात्र हो हामीले चुनावमा हारेको नभए यस अघि सबै चुनावमा हामी जित्दै आएका थियौँ । म सधैँ पार्टीभन्दा माथि उठेर आवश्यक परेको ठाउँमा सहयोग गर्न उपस्थित हुन्थेँ । यही कारण मलाई अरु पार्टीका समर्थकहरूले पनि भोट हाल्थे । यसपालि पनि नहालेका त होइनन् तर पर्टीको आन्तरिक समस्या, दुईटा पार्टीको गठबन्धन आदिजस्ता कुराहरूले पनि फरक पा–यो ।
अब नेपाली काङ्ग्रेस कस्तो हुनुपर्छ ?
यो वर्षलाई नै प्रशिक्षण वर्ष घोषणा गरेर प्रत्येक वडामा काङ्ग्रेसको सङ्गठनका बारेमा प्रशिक्षण दिनुपर्छ । पार्टीलाई सामूहिक छलफलमार्फत एउटा गतिमा लग्नुपर्छ । हामीले यस विषयमा कुरा गरिसकेका छौँ । पार्टीको विधानलाई नमिची सुदृढिकरण र शुद्धिकरण गर्न जरुरी छ । साथै सबै जनतालाई काङ्ग्रेस पार्टी गुट उपगुट र अन्तर्घात भन्दा माथि उठेर एकताबद्ध भएको छ भन्ने अनुभूति दिलाउन संगठनका हरेक सदस्यले एउटै भाषा बोल्नुपर्छ, एउटै उद्देश्यलाई बोकेर अघि बढ्न्पर्छ ।
अहिलेको सरकारले निर्वाचनका बेला वृद्धभत्ता, रेलमार्ग आदिजस्ता विषयमा झुटको खेती ग–यो त्यसमा जनता उनीहरूसँग रुष्ट छन्, असहमत छन् । ०७२ सालमा बनेको संविधानलाई सरकारले ध्वस्त पार्न लागेको छ । यसलाई अवसरका रुपमा लिएर हामीले हाम्रो संविधानलाई बचाउनुपर्छ र शक्तिशाली प्रतिपक्षीका रुपमा स्थापित हुनुपर्दछ । यस्तो गर्न सके अबको ५ वर्षमा यो देशमा फेरि काङ्ग्रेस नै हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया