एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोटरबाइक बनाउने हार्ली डेभिडसनद्वारा युरोपका लागि बाइक बनाउने काम अन्तै सार्ने भनी व्यक्त भनाइको कडा आलोचना गरेका छन् ।
विदेशी वस्तुमा महशुल थपेको विरोधमा युरोपियन युनियनले पनि अमेरिकी वस्तुमा महशुल थपेको विषयलाई लिएर हार्ली डेभिडसनले युरोपका लागि मोटरबाइक बनाउने काम अन्तै सार्ने जनाएपछि ट्रम्पले कम्पनीको आलोचना गरेका हुन् ।
ट्विट गर्दै राष्ट्रपति ट्रम्पले आफू कम्पनीको निर्णयबाट चकित भएको बताएका छन् । उनले भने “ यो आत्मसमर्पण गर्ने पहिलो लहर हो । म तिनका विरूद्ध कठोर लडाइ लडे ।”
राष्ट्रपति कार्यालयकी प्रेस सचिव सारा स्यान्डर्सले पत्रकारहरूसँग बोल्दै युरोपेली युनियनले अमेरिकी कामदारलाई दण्ड दिन खोजिरहेको आरोप लगाइन् ।
उनले यो अन्यायपूर्ण र विभेदकारी व्यापार नीति भएको बताइन् । राष्ट्रपति ट्रम्पले स्वतन्त्र, निष्पक्ष र पारस्परिक व्यापारका लागि निरन्तर काम गर्ने र युरोपेली युनियनले आफूहरूसँग मिल्ने विश्वास समेत उनले व्यक्त गरिन् ।
हाली डेभिडसनका मोटर बाइक एसेम्बल गर्ने कारखानाहरू अस्ट्रेलिया, ब्राजिल, भारत र थाइल्यान्डमा रहेकै छ । युरोपियन युनियनले महशुल थपेपछि लागत बढने कम्पनीको भनाइ छ ।
सन् २०१७मा युरोपमा हार्ली डेभिडसनका ३९,७७३ मोटर बाइक बिक्री भएको थियो ।
फलाम र अल्मुनियममा महशुल थपेर ट्रम्पले यो अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि महत्वूर्ण भएको दाबी गरे ।
यसको जवाफमा युरोपियन युनियन, क्यानाडा, मेक्सिको, भारत र अन्य देशहरूले अमेरिकी उत्पादनहरूमा महशुल थपि दिएका छन् ।
यसबाट व्यापार युद्ध हुने खतरा बढन गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया