बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं । एसियाडको तयारीको शिलशिलामा नेपाल राष्ट्रिय बक्सिङ टोली बैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड जाने भएका छन् । 

बुधबार थाइल्यान्ड प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, खेलकुद परिषदका सदस्य तथा संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, राखेप खेलकुद विकास विभाग प्रमुख कुल बहादुर थापा, बक्सिङका भीष्म पितामह सुरेश सिंह आलेलगायतले विदाई गरे ।

टिमले दुई महिना सम्म थाइल्यान्डको बैंककमा विशेष प्रशिक्षण गर्नेछन् । प्रशिक्षण दौरान टिमले थाइल्यान्डमा हुने थाइल्यान्ड ओपन इन्टरनेशनल बक्सिङ च्याम्पियनसिप किङ्स कपमा पनि सहभागिता जनाउनेछन् । च्याम्पियनसिप जुन २८ देखि जुलाई ६ तारिखसम्म हुँदैछ ।

किङ्स कपमा सहभागि हुने खेलाडीमा महिलातर्फ बिमला श्रेष्ठ ५१ केजी, संगिता सुनार ५७ केजी र पुनम रावल ६० केजीमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ तेज बहादुर देउवा ४९ केजी, प्रेम चौधरी ५२ केजी, बिमल रोका ५६ केजी,एक बहादुर घले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै भुपेन्द्र थापाले ६४ केजी, विष्णु घलेले ६९ केजी र दिपक श्रेष्ठ ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । टिमको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर र सहायक प्रशिक्षकमा दिपक महर्जन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?