तेह्रथुम । जीवन बीमाको उपयोगिता नबुझ्दा बीमा गर्न अझै नागरिकहरु हिच्किचाउने गरेका छन् । गाउँ टोलसम्म बीमासम्बन्धी ज्ञान र त्यसको महत्व पुर्याउन नसक्दा नागरिक बीमा गर्नबाट वञ्चित छन् ।
बीमामा गरेको लगानी सुरक्षित हुने वा नहुने बारे अन्यौल भएका नागरिकहरूलाई बीमा अभिकर्ताहरूले बुझाउन नसक्दा जोखिमबाट मुक्त हुन नसकेको तेह्रथुमको सदरमुकाम म्याङलुङमा आयोजित जीवन बीमासम्बन्धी सेमिनारमा सहभागीहरूले बताएका छन् ।
हरेक नागरिकले जीवन बीमाको महत्वको बारे ज्ञानको कमी रहेको कार्यक्रममा सहभागी निता लिम्बूले बताइन्।
उनले भनिन्, ‘बीमाबारे तालिम भए पनि अझै गाउँ–गाउँमा यसको महत्व बुझ्न सकेका छैनन् । केही जान्ने बुझ्नेले बीमा गरे पनि सबै नागरिकसम्म यसको सूचना पुगेकै छैन त्यसैले बीमा गर्न मान्दैनन् ।’
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेह्रथुम उपशाखाले आयोजना गरेको सेमिनारमा जिल्लाका ६ वटै पालिका गरी ६० जना सहभागी थिए । कार्यक्रममा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश १ का प्रमुख मदन गौतमले जीवन बीमाको महत्व, फाइदा, विशेषता, बीमा क्षेत्रबाट गर्न सकिने आम्दानी र बचतको विषयमा प्रशिक्षण दिएका थिए ।
बीमाको महत्वबारे बीमा अभिकर्ताहरूले आफू पनि अध्यायन गरी नागरिकहरूसम्म पुर्याउनु पर्ने ज्योति लाइफ इन्स्योरेन्स तेह्रथुमका प्रमुख टीआर सेनेहाङले बताए । ज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रकारका घातक रोगको लागि सेवा दिने भएकाले पनि नागरिकलाई बीमा गर्न आवश्यक रहेको सहभागीले धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया