विश्वकप: अन्तिम १६ प्रवेशको समीकरण पूरा, शनिबारबाट प्रि—क्वार्टरफाइनल शुरु

 

रसिया । २१ औं संस्करणको फिफा विश्वकप अन्तर्गत समूह चरणको खेल सकिएको छ । यता शनिबारबाट नटआउट चरणका खेलहरु शुरु हुँदैछ । 

समूह चरणको ४८ खेल सकिँदा सहभागी ३२ टिम मध्ये आधा टोली घर फर्किसकेका छन् । समूहको नकआउट समीकरण पूरा भएसँगै उपाधि दावेदार टोलीहरुबीचको घमासान भिडन्त अब सुरु हुँदैछ । प्रि—क्वार्टरफाइनलमा भिड्ने हरेक टिमको लागि खेल निकै महत्वपूर्ण हुनेछ भने खेलमा जित्नै पर्ने दबाव पनि थपिएको छ । 

४ पटकको विश्वविजेता तथा डिफेन्डिङ च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरिदा सबै खेल प्रेमी दर्शक चकित परेका थिए भने जर्मनीको यो नतिजा विश्वकप फुटबलमा सबैभन्दा अप्रत्यासित रह्यो ।  समूह ‘एफ’ मा रहेको जर्मनीले एक खेलमा जित र दुईमा हार बेहोरेकोे थियो ।

३ अंक मात्र बनाएको जर्मनी समूहको अन्तिम स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो । स्वीडेन र मेक्सिको यहि समूहको विजेता र उपविजेता बन्दा जर्मनीको भने विश्वकप यात्रामा पूर्णविराम लाग्यो । यता युरोपियन टिम पोल्यान्ड पनि समूह चरणबाटै बाहिरियो । 

विश्वकप फुटबल इतिहासमा सर्वाधिक ५ पटकको विश्वकप विजेता ब्राजिल, २ पटकको विजेता अर्जेन्टिनाले अन्तिम खेल जित्दै प्रि—क्वार्टरफाइनलको यात्रा तय गरे भने आयोजक राष्ट्र रसिया सहित उरुग्वे, फ्रान्स, इंग्ल्याण्ड र बेल्जियमले समूह चरणको एक खेल अघि नै नकआउट चरणको यात्रा पक्का गरिसकेको थियो ।

शनिबारबाट सुरु हुने प्रि—क्वार्टरफाइनलको पहिलो खेलमा समूह ‘सी’ को विजेता फ्रान्सले समूह ‘डी’ उपविजेता अर्जेन्टिनाको सामना गर्नेछ । यि दुई टिमविचको खेल ७ः४५ बजे पछि सुरु हुनेछ । त्यस्तै, अर्को खेलमा समूह ‘ए’  विजेता उरुग्वेले समूह ‘बी’  उपविजेता पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ ।  यि दुई टिमविचको खेल शनिबारराति ११ः४५ बजेपछि सुरु हुनेछ ।  दुई पटकको विश्व विजेता उरुग्वे र युरोपियन पावर हाउस पोर्चुगलबीचको खेल पनि हेर्न लायक हुनेछ ।

यता विश्वकप फुटबलको प्रि—क्वार्टरफाइनलमा सबैभन्दा प्रतिक्षा र रोमाञ्चक हुने भनिएको खेल दुई पूर्व च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीचको हो । नाइजेरियासँगको अन्तिम खेलमा बराबरी वा हारको नतिजाले अर्जेन्टिना समह चरणबाटै बाहिरिने थियो । तर जित हात पार्दै समूह ‘डी’ को उपविजेता बनेको अर्जेन्टिनाले समूह ‘सी’ को विजेता फ्रान्ससँगको भेट पक्का गरेको हो ।

प्रि—क्वार्टरफाइनलमा युरोपबाट सबैभन्दा धेरै १० टोली छन् भने दक्षिण अमेरिकाबाट ४ तथा उत्तर अमेरिका र एसियाबाट एक एक टोली छन् । पछिल्लो ३६ वर्षमा अफ्रिकाबाट भने कुनै पनि टोलीले प्रि—क्वार्टरफाइनलको यात्रा तय गर्न सकेन । 

नकआउट चरणमा पुग्ने टिमहरुमा सन् २०१० को विश्व विजेता स्पेन, ५ पटकको च्याम्पिन ब्राजिल, २ पटकको च्याम्पियन अर्जेन्टिना, फ्रान्स, उरुग्वे, रसिया, पोर्चुगल, डेनमार्क, क्रोएसिया, स्वीट्जरल्याण्ड, स्वीडेन, मेक्सिको, बेल्जियम, इंग्ल्याण्ड, कोलम्बिया र जापान रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?