सुमित्रा र नन्जा सेमिफाईनलमा प्रवेश

काठमाडौं । त्रिभुवन आर्मी क्लबकी सुमित्रा बिक र एपीएफकी नन्जा बुढामगर जारी स्वं प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेका छन् । 

 
प्रतियोगिताको तेश्रो दिन महिला ४८ केजी तौल समूहको क्वाटरफाईनल खेलमा सुमित्राले झापाकी रोशिना लिम्बुलाई तथा नन्जाले नक्शालकी सुस्मा तामाङलाई हराउँदै अन्तिम चारको स्थान पक्का गरेका हुन् । यता ४८ केजी तौल समूहमा अल्फाकी बिमला थापामगरले बाकेकी रिता दरलालाई तथा एपीएफकी साबित्री तामाङले भक्तपुरकी अस्मिता दुवाललाई हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

महिला ५१ केजी तौल समूहमा आर्मीकी आरती तामाङ, गिताकुमारी थापा, एपीएफकी माला राई र मकवानपुरकी सन्जुमाया थिङले सेमिफाईनलमा स्थान बनाउँन सफल भइन् । महिला ५४ केजीमा आर्मीकी मिनु गुरुङ र एपीएफकी निता गोसाईले अन्तिम चारमा स्थान बनाए ।

त्यस्तै महिला ५७ केजीमा नक्शालकी कुसुम तामाङले सेमिफाईनलमा स्थान बनाईन् । महिला ६४ केजीतर्फ आर्मीकी बिनिता थापामगरले सेमिफाईनलको यात्रा तय गरिन् ।

लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रको हलमा जारी प्रतियोगिताको पुरुष ४९ केजी तौल समूहमा आर्मीका शुशिल थापा, एपीएफका आस तामाङ, प्रदिप महर्जन र कास्कीका बिष्णु गौतम सेमिफाईनलमा प्रबेश गरेका छन् ।

पुरुष ५२ केजीमा चितवनका ओम परियार, आर्मीका बिकास राई, डोलबहादुर चौधरी र एपीएफका बिकास परियारले अन्तिम चारमा स्थान बनाए । पुरुष ५६ केजीमा झापाका जितेन्द्र राई, सुरेन्द्र राई, कास्कीका दिनेश बानिया र एपीएफका पुरन राईले सेमिफाईनलमा स्थान पक्का गरेका छन् ।

पुरुष ६० केजीमा कन्चनपुरका रामवहादुर थापा, झापाका प्रकाश लिम्बु इजम, आर्मीका दानवहादुर दलामी र नक्शालकी किशोर शर्माले अघिल्लो चरणको यात्रा तय गरेका छन् ।  

पुरुष ६४ केजीमा आर्मीका नरेश थापा, बुद्धिसगर गुरुङ, एपीएफका सोनम कार्की र झापाका अभिनय राईले अन्तिम चारमा स्थान पक्का गरेका छन् । पुरुष ६९ केजीमा आर्मीका रबि सुनार, सन्जित ब्यान्जु, काठमाण्डौका सरियान्स प्रजापति र कास्कीका हेमराज राउतले सेमिफाईनलमा स्थान बनाएका छन् ।

पुरुष ७५ केजीमा बानुजका कौशलजंग थापा, आर्मीका लाल आलेमगर, किरणराज शाही र झापाका प्रेम गुरुङले सेमिफाईलमा स्थान बनाएका छन् । पुरुष ८१ केजीमा कास्कीका दिपक सुनुवार, टिकाथलीका रबिन्द्र घिमिरे र आर्मीका भुपेन्द्र सिंहले अन्तिम चारको स्थान पक्का गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?