कबाट कमल पानीमा फुल्ने
खबाट खरायो बारीमा डुल्ने….
अधिकांश विद्यालयका साना कक्षामा या मन्टेस्वरी कक्षाका बालबालिकालाई यही गीतका माध्यमबाट अक्षर चिनाइन्छ ।
गीतले बालबालिकालाई अक्षर चिनाउन सहज बनाइदिएको छ ।
स–साना नानी–बाबुसँगै उनका बुबाआमाले पनि आफ्ना छोराछोरीलाई सिकाउनका लागि यो गीत गुन्गुनाउने गर्छन् ।
विमल गौतमको यो रचना प्रायः मन्टेस्वरी र स्कूलमा बालबालिकालाई वर्णमाला सिकाउने माध्यम बनेको छ ।
तर, गीतका रचनाकार विमल गौतमलाई भने धेरैले चिन्दैनन् ।
विमल आफैले स्वीकार्छन्, ‘गीत हिट छ तर म हिट छैन ।’
केही वर्षअघि एक वृद्ध फेसबूक प्रयोगकर्ताले उनलाई फेसबूकमा फ्रेन्ड रिक्वेस्ट पठाए । संयुक्त साथी कोही थिएनन् । उनले रिक्वेस्ट एसेप्ट गरे । ‘यति वृद्धले मलाई कसरी चिन्नुभयो होला भनेर खुल्दुली लागिरहेको थियो’, गौतम सुनाउँछन्, ‘घरमा नातिले सधै ‘क बाट कमल’ गाउँदो रहेछ, त्यही कारणले उहाँलाई यो गीत लेख्ने को रैछ भनेर फेसबूकमा खोजेर एड गर्नुभएको रैछ ।’
‘आफ्नो गीतले माया पाएको देखेर खुशी लाग्यो ।’,उनी खुशी व्यक्त गर्छन् ।
बालबालिकालाई कसरी सिकाउन सकिन्छ भन्ने चासोले नै उनलाई यो गीत जन्माएको थियो । विमल भन्छन्, ‘किताबमा लेखिएको क, ख लाई रटाएर मात्र ज्ञान दिनुपर्छ भन्ने छैन, गीत गाएर पनि बालबालिकालाई सजिलै अक्षर चिनाउन सकिन्छ ।’
उनको यही प्रयोगले हुनुपर्छ, दश वर्षअघि लेखेको यो गीत अहिले धेरै स्कूलका लागि अनिवार्य पाठ्यपुस्तक जस्तै भएको छ ।
यसरी जन्मियो गीत
यो गीत लेख्ने प्रेरणा उनलाई आफ्नो दुई वर्षीय छोराबाट मिलेको रहेछ । त्यही छोरा,जुन छोरालाई उनले गुमाइसकेका छन् ।
उनी स्नातक तहका विद्यार्थीहरुलाई पनि पढाउँथे । एकदिन अध्यापन गराएर घर फर्केपछि सानो छोराले तोते बोलीमा बोल्यो, ‘बाबा बाबा दादा दिदीलाई मात्र पढाउने ? मलाई नपढाउने ?’
उसले झगडा गर्न खोज्यो ।
‘तिमीलाई पनि पढाउने नि । कबाट कमल पानीमा फुल्ने, खबाट खरायो बारीमा डुल्ने ।’
एकै झड्कामा यत्ति फु–यो ।
‘मलाई के लाग्यो भने, छोरालाई जस्तो बुझाउने गरी गीत लेख्न सक्यो भने धेरैलाई सजिलो हुन्छ, त्यतिबेलै मैले यो गीत तयार पार्छु भन्ने अठोट गरें ।’, गौतम सुनाउँछन् ।
त्यसको झण्डै एक वर्ष लगाएर उनले गीत तयार गरे । अडियो पनि तयार पारे ।
अङ्ग्रेजीमा ‘ए फर एप्पल’ जस्तै नेपालीमा ‘क बाट कमल’ पनि अनिवार्य जस्तै बनेको छ अहिले ।
जुन छोराको सिकाइ अझ सहज होस् भनेर उनको मष्तिष्कले गीत फुराएको थियो, ती छोरालाई उनले चार वर्षमै गुमाउनु प–यो ।
जब जब यो गीतको कुरा आउँछ, उनी आफ्नो छोरा सम्झिन्छन् ।
यसकारण यस्तो गीत
विमलको बुझाइमा अहिलेको शिक्षा प्रणाली मनोरञ्जनका माध्यमबाट सिकाइन थालेको छ । बालबालिकालाई बुझाउन पनि सांगीतिक माध्यम नै सहज हुन थालेको छ । यसो गर्न सकियो भने विद्यार्थीलाई घोकाएर, पिटेर सिकाउनुपर्ने अवस्था आउँदैन ।
‘बच्चालाई गीत, हाउभाउ र तथा नृत्यको माध्यमबाट दीर्घकालीन रुपमा सिकाउन सकिन्छ’, उनी थप्छन्, ‘गीत मात्र होइन, कार्टुनको माध्यमबाट पनि बालबालिकालाई सिकाउन सकिन्छ, पुरानो ताराबाजी लै लै र चीँ मुसी चीँ कति गाउने ?’
‘अङ्ग्रेजीको जोनी जोनी यस पापा पनि कति बजाउने ?’, उनी प्रतिप्रश्न गर्छन् ।
‘क’बाट कमल गीतले मनोरञ्जनसँगै वर्णविन्यास, शब्द र तिनका अर्थलाई पनि सजिलै सिकाउन खोजिएको गौतम बताउँछन् ।
‘यसअघि अरु कुनै यस्ता गीत बनेका थिएनन्, यसपछि पनि जति बने सबै यसबाटै कपी गरिएका जस्ता छन् । त्यही भएर पनि बजारमा यसको क्रेज उत्तिकै छ ।’ गौतम सुनाउँछन् ।
गणित, विज्ञान जस्ता विषय पनि हाँस्दै, खेल्दै गीतको भाकामा पढाउन सकिन्छ भन्ने उनलाई लागेको छ । अहिले उनी नेपालीकै क, का, कि, की गीत बनाउने क्रममा छन् ।
‘कबाट कमल, फूल पानीलाई । काबाट काका बाबाको भाई….’
उनी भन्छन्, ‘बच्चाले बुझ्ने गरी गीत तयार पार्नुपर्छ, पूर्ण तयार हुन केही वर्ष लाग्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया