अन्तर्राष्ट्रिय ओलम्पिकमा खेलाडी छनोट सम्पन्न

काठमाडौं । बौद्धिक तथा विकासोन्मुख अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय ओलम्पिकमा सहभागी गराउन खेलाडी छनोटका लागि राष्ट्रव्यापी प्रतियोगिता शनिबार सम्पन्न भएको छ । 

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शुक्रबारदेखि शुरु भएको उक्त प्रतियोगितामा एथलेटिक्स, फुटबल र बसी खेल खेलाइएको थियो । बसी युरोप र संयुक्त राज्य अमेरिकामा खेल्ने विशेष खेल हो । 

स्पेसियल ओलम्पिक नेपा नामक सामाजिक संस्थाले दुई दिनसम्म आयोजना गरेको उक्त प्रतियोगितामा काठमाडौं उपत्यका, कास्की र मोरङबाट ११० खेलाडी सहभागी थिए । शनिबार भएको अन्तिम चरणको प्रतियोगितामा खेलाडी छनोटका लागि क्षेत्रीय प्रतियोगिता गत चैतमा विराटनगरमा खेलाइएको थियो । 

उक्त प्रतियोगिताको आधारमा खेलाडीको अतिरिक्त क्रियाकलापका साथै विभिन्न पक्षको मूल्यांकन गरी केही दिनमा उत्कृष्ट १६ खेलाडीको नतीजा सार्वजनिक गरिने कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष डा सदिच्छा श्रेष्ठले बताइन्। छनोट हुने ती खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै त्यहाँ सहभागी हुने छन् । 

अन्तर्राष्ट्रिय तहबाट सोही प्रकृतिका खेलाडी सन् २०१९ मा संयुक्त अरब इमिरेटस् दुबईमा हुने ओलम्पिकमा सहभागी हुँदैछन् । दुबईमा हुने यस प्रतियोगितामा ३२ खेल खेलिने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?