अर्जेन्टिना विश्वकपबाट बाहिरियो, फ्रान्स क्वाटरफाइनलमा प्रवेश

रसिया। दुई पटकको विश्व विजेता अर्जेन्टिना जारी फिफा विश्वकप फुटबलको नकआउट चरणबाटै बाहिरिएको छ भने फ्रान्स क्वाटरफाइनलमा पुगेको छ । 

काजान स्टेडियममा शनिबार राति भएको पहिलो प्रि—क्वार्टरफाइनल खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४—३ अन्तरले हराउँदै अन्तिम आठको स्थान तय गरेको हो । 

खेल सुरु भएको १३ मिनेट पनि बित्न नपाउँदै फ्रान्सका लागि  एन्थोनी ग्रिजमानले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

केलिन एमबाप्पेलाई अर्जेन्टिनाका मार्कोस रोजेले डिबक्स एरियामा फल गरेपछि फ्रान्सले  पेनाल्टी हान्ने मौका पाएको थियो । सो अबसरलाई सदुपयोग गर्दै ग्रिजमानले गोलमा परिणत गरिदिए । निकै दबावमा खेल खेलेका अर्जेन्टिनाका लागि ४१ औ मिनेटमा एन्जल डि मारियाले गोल गर्दै खेललाई एक—एक गोलको बराबरीमा ल्याए ।

उनले २५ यार्डबाट प्रहार गरेको बललाई सहि दिशा दिदै गोल पोष्टको जाली चुमाएका थिए । दोस्रो हाफ सुरु भएलगतै अर्जेन्टिनाका लागि ग्याब्रियल मार्कोडोले गोल गर्दै खेललाई २—१ को स्थितीमा पुर्याए । उनले ४८ औं मिनेटमा गोल गरेका थिए । 

५७ औ मिनेटमा फ्रान्सका बेन्जामिन पाभार्डले गोल गर्दै खेललाई २—२ गोलको बराबरीमा पुर्याए । ६४ औ मिनेटमा केलिन एमबाप्पेले गोल गरे । ६८ औ मिनेटमा एमबाप्पेले ब्यक्तिगत दोस्रो गोल गर्दा टिमले ४—२ गोलको अग्रता बनायो । 

प्रतिस्पर्धात्मक खेलको ९० औं मिनेटमा अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले गोल गरे पनि त्यो जितको लागि प्रयाप्त भएन र खेल फ्रान्सले ४—३ ले आफ्नो पक्षमा पार्यो । । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो भने फ्रान्सले १९९८ मा उपाधि उचालेको थियो  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?