रसिया। पोर्चुगललाई पराजित गर्दै दक्षिण अमेरिकी महारथी टिम उरुग्वे जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सोचीस्थित फिस्ट स्टेडियममा शनिबार राति भएको प्रि—क्वार्टरफाइनलको दोस्रो खेलमा उरुग्वेले पोर्चुगललाई २—१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठको स्थान तय गरेको हो । अब क्वार्टरफाइनलमा उरुग्वेले फ्रान्सको सामना गर्नेछ । यस अघि भएको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४—३ गोल अन्तरले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।
फ्रान्सेली क्लव पीएसजीका स्टार इडिन्सन काभानी र बार्सिलोनाका लुइस स्वारेजको उत्कृष्ट तालमेलले क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल उरुग्वेसँग निरिह बन्यो । उरुग्वेका डिफेण्डरहरुले स्ट्राइकर रोनाल्डोलाई खुलेर देख्न दिएन । समूह चरणको भन्दा सुधारिएको प्रदर्शन गरे पनि उरुग्वेको रक्षापंक्तिले अझै अपेक्षाकृत खेल्न सकेन ।
खेल सुरु भएको ७ मिनेट पनि बित्न नपाउँदै स्वारेजले दिएको पासलाई काभानीले सदुपयोग गर्दै हेमार्फत पहिलो गोल गरे र टिमलाई सुरुवाती अग्रता दिलाए ।
खेलको पहिलो हाफसम्म १—० गोल अन्तरले पछाडी रहेको पोर्चुगलले दोस्रो हाफमा बराबरी गोल फर्कायो । ५५ औ मिनेटमा रफायल गुरेरोको कर्नरमा रियल मड्रिडका पूर्व स्टार डिफेण्डर पेपेले हेडमार्फत बराबरी गोल गरेका थिए ।
तर, ६२ औं मिनेटमा राड्रिगो बेन्टेनकरको पासले काभानीले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा पोर्चुगलले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल २—१ ले हार्यो । हारसँगै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया