काठमाडौं। फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेले पेलेको किर्तीमानसँग बराबरी गरेका छन् ।
जारी फिफा विश्वकप फुटबल अन्तर्गत शनिबार राति सम्पन्न अर्जेन्टिनाविरुद्धको खेलमा फ्रान्सका लागि एमबाप्पेले महत्वपूर्ण २ गोल गर्दै टिमलाई क्वाटरफाइनलमा पुर्याएका थिए । प्रि-क्वार्टरफाइनल खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४—३ गोल अन्तरले पराजित गरेको थियो ।
एमबाप्पेले २० औं शताब्दीका महान् फुटबलर पेलेको कीर्तिमानसँग बराबरी गर्न सफल भएका छन्। उनले टिनएजमा विश्वकपमा २ गोल गर्ने पेलेको कीर्तिमानसँग बराबरी गरेका हुन्। सन् १९५८ को विश्वकपमा १७ वर्षीय पेलेले स्विडेन विरुद्धको फाइनल खेलमा २ गोल गरेका थिए। त्यतिबेला पेलेको गोलबाट ब्राजिलले पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । १९ वर्षीय एमबाप्पेले वर्तमान पुस्ताका उत्कृष्ट खेलाडी लियोनेल मेसीको स्थान लिन सक्ने बताइएको छ ।
फ्रान्सले अर्जेन्टिना विरुद्ध गरेको ४ मध्ये ३ गोलमा एमबाप्पेको योगदान रह्यो। १४ औं मिनेटमा एमबाप्पेलाई अर्जेन्टिनी डिफेन्डरले लडाएपछि पाएको पेनाल्टीमा गोल गरेर फ्रान्सले अग्रता लिएको थियो। त्यसपछि दुई गोल गर्दै एमबाप्पेले आफ्नो क्षमता प्रमाणित गरे। सन् १९९८ मा पहिलो पटक विश्वकपको उपाधि जितेको फ्रान्सेली टिममा एमबाप्पे एक प्रतिभाशाली खेलाडीको उदय भएको छ ।
२० डिसेम्बर १९९८ मा जन्मिएका एमबाप्पेले गत सिजन व्यावसायिक फड्को मारेका थिए। मोनाकोलाई फ्रेन्च लिग वानको च्याम्पियन बनाएपछि उनले अर्को फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेनमा कीर्तिमानी रकममा आबद्ध हुने सम्झौता गरेका थिए। हाल भने लोनमा पिएसजीमा आबद्ध छन्।
यो सिजन सुरु भएपछि उनी १ सय ८० मिलियन युरो २३ अर्ब नेपाली रुपैँयामा पिएसजीमा जाने सम्झौता भइसकेको छ। यो सँगै एमबाप्पे विश्वककै दोस्रो महँगा फुटबलर भएका थिए। सर्वाधिक महँगा खेलाडी भने ब्राजिलका नेइमार हुन्। उनी २ सय मिलियन युरोमा पिएसजीमै आबद्ध भएका थिए।
सिजनमा नेइमारसँगै लिग खेल्दा एमबाप्पेले २७ खेलमा १३ गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया