गोलरक्षक आकिनफेभ नायक बन्दा रसिया क्वार्टरफाइनलमा प्रवेश (फोटो फिचर)

रसिया। पूर्व विश्व च्याम्पियन स्पेन जारी फिफा विश्वकप फुटबलको प्रि—क्वार्टरफाइनलबाटै बाहिरिएको छ भने आयोजक राष्ट्र रसिया क्वार्टरफाइलनमा प्रवेश गरेको छ । 

लुज्निकी स्टेडियममा आइतबार राति भएको पहिलो प्रि—क्वार्टरफाइनल खेलमा रसियाले स्पेनलाई पेनाल्टी सुट आउटमा ४—३ गोलले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । स्पेनका कोके र इयागो आसपासको प्रहार रसियाका गोलरक्षक इगोर आकिनफेभले उत्कृष्ट बचाउ गरेपछि जित सम्भब भएको हो । रसिया सन् १९६६ पछि पहिलो पटक इतिहास रच्दै क्वार्टरफाइनलमा पुगेको हो । 

खेल सुरु भएको १२ मिनेट पनि बित्न नपाउँदै स्पेनले खेलमा १—० को अग्रता लियो । सर्जियो रामोसले फ्रिकिकमार्फत प्रहार गरेको बललाई बचाउन खोज्दा रसियाका सर्गेइ इग्नासोभिचले आत्मघाती गोल गर्न पुगे । प्रतिस्पर्धात्मक खेलको ४१ औ मिनेटमा रसियाले बराबरी गोल फर्कायो । ज्युवाले कर्नरबाट प्रहार गरेको बललाई क्लियर गर्न खोज्दा स्पेनका गेरार्ड पेकेले डिबक्समा ह्याण्ड गरेपछि रसियाले पेनाल्टी हान्ने मौका पाएको थियो ।

सो अबसरलाई रसियाका ज्युवाले गोल गर्दै खेललाई एक—एक गोलको बराबरीमा पुर्याए । रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा स्पेन रसियामाथि हाबी भएपनि गोल गर्न भने असफल रह्यो । खेलको ९१ औ मिनेटमा स्पेनका लागि डिएगो कोस्टाले कर्नरबाट हानेको बललाई रामोसले सदुपयोग गर्न सकेन् ।

उनको प्रहार गोलपोष्ट माथिबाट बाहिरिएको थियो । निर्धारित समयसम्म दुवै टिमबाट समान एक—एक गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।  थपिएको समयमा पनि दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो ।

स्पेनले भरपर्दा मिडफिल्डर आन्द्रे इनेस्टालाई प्लेइङ ११ मा समावेश गरेको थिएन । उनलाई खेलको ६० औं मिनेटमा मात्र मैदान प्रवेश गराइएको थियो । पेनाल्टी सुट आउट गरिएको थियो ।स्पेनले सन् २०१० को विश्वकपको पहिलो पटक उपाधि जित्दै इतिहास रचेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?