डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा

रसिया। क्रोएसिया जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

निज्नी नोभ्गोरोड स्टेडियममा आइतबारराति सम्पन्न भएको नकआउट चरणको खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुट आउटमा ३—२ गोल अन्तरले हराउँदै अन्तिम आठको स्थान तय गरेको हो । अब सेमिफाइनल प्रवेशको लागि शनिबार क्रोएसियाले आयोजक राष्ट्र रसियाको सामना गर्नेछ । 

क्रोएसियालाई अन्तिम आठमा पुर्याउनका लागि गोलरक्षक डेनियल सुबेसिच नायक बने । उनले पेनाल्टी सुटआउटको पाँच मध्ये तीन पेनाल्टी बचाएका थिए । चार जनाले पेनाल्टी प्रहार गर्दासम्म २–२ गोलको स्थितीमा रहेको अवस्थामा इभान राकिटिचले गोल गर्दै क्रोएसियालाई अघिल्लो चरणमा पुर्याए । 

खेल सुरु भएको १ मिनेट पनि बित्न नपाउँदै डेनमार्कका लागि माटिस होर्गेनसनले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । होर्गेनसनले गोल गरेपछि निकै आक्रामक खेल खेलेको क्रोएसियाले चौथो मिनेटमा बराबरी गोल फर्कायो । क्रोएसियाका लागि मारियो मान्जुकिचले गोल गर्दै खेललाई १—१ गोलको स्थितीमा ल्याएका थिए । 

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । थपिएको अतिरिक्त समयको अन्तिम समयमा क्रोएसियाले पेनाल्टी पाएको थियो । कप्तान लुका मोड्रिचले प्रहार गरेको पेनाल्टीलाई डेनमार्कका गोलरक्षक क्यास्पर सेमाइकलले उत्कृष्ट बचाउ गरे ।

यस अघि सम्पन्न भएको पहिलो प्रि-क्वार्टरफाइनल खेलमा पूर्व विश्व विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रसिया क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?