काठमाडौं । मुलुकको वैदेशिक व्यापार निराशाजनक देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी चालु आर्थिक वर्षको सात महिनाको प्रतिवेदन अनुसार निर्यातको तुलनामा आयात उच्च हुँदा वैदेशिक व्यापार निराशाजनक देखिएको हो ।
प्रतिवेदन अनुसार चालु आवको सात महिनामा कुल वस्तु निर्यातमा ८८ दशमलव तीन प्रतिशतले बढेर एक खर्ब ३१ अर्ब ६६ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात सात दशमलव छ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय १३ प्रतिशत र २७ दशमलव सात प्रतिशतले बढेको देखिएपनि चीनतर्फको निर्यात भने १२ दशमलव चार प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुस लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।
चालु आवको सात महिनामा कुल वस्तु आयात भने ४२ दशमलव आठ प्रतिशतले वृद्धि भई ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नगन्य अर्थात् शुन्य दशमलव शुन्य एक प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३० दशमलव नौ प्रतिशत, ४२ दशमलव तीन प्रतिशत र ८३ दशमलव आठ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाई छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आयात र निर्यातबिचको उच्च असन्तुलन कै कारण चालु आवको सात महिनामा कुल वस्तु व्यापार घाटा ३८ दशमलव चार प्रतिशतले वृद्धि भई १० खर्ब १५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा शुन्य दशमलव सात प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दशमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सो ही अवधिमा यस्तो अनुपात आठ दशमलव सात प्रतिशत रहेको राष्ट्र बैंकको भनाई छ ।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब २८ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब चार अर्ब १३ करोड बराबरको भएको थियो ।
वृहत आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४८ दशमलव दुई प्रतिशत र ५१ दशमलव सात प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् शुन्य दशमलव शुन्य दुई प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया