ब्राजिल र मेक्सिको भिड्दै

रसिया । जारी २१ औं चरणको फिफा विश्वकप फुटबल अन्तर्गत आजसाँझ हुने पहिलो खेलमा ब्राजिलले मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ । 

यि दुई टिमविचको खेल सामरा स्टेडियममा आजसाँझ नेपाली समयअनुसार पौने ८ बजेपछि शुरु हुँदैछ । पाँच पटकको विश्वविजेता ब्राजिल छँैटो पटक उपाधि जित्ने लक्ष्यका साथ अहिले रसियामा रहेको छ । ब्राजिल समूह ‘ई’ को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो ।

यता मेक्सिकोे समूह ‘एफ’ को उपविजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको थियो । ब्राजिलले समूह चरणको पहिलो खेलमा स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा गरेको थियो भने त्यसपछिका दुई खेलमा कोस्टारिका र सर्वियालाई समान २–० गोलले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो । 

हरेक पोजिसनमा उत्तिकै अब्बल खेलाडी रहेको ब्राजिलको मुख्य आकर्षणको रुपमा ब्राजिलका युवा स्टार नेयमार रहेका छन् । तर, नेयमारले अपेक्षा अनुसार खेल्न भने सकिरहेको छैन ।
मुख्य गरी नेयमारको प्रेरणामा रहेको ब्राजिली टिममा यसपटक स्पेनिस क्लब बार्सिलोनाका फिलिपे कौटिन्होले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

पछिल्लो समय ब्राजिलले आफ्नो छवि अनुसारको फुटबल खेलिरहेको छ । मेक्सिकोविरुद्ध पनि आफ्नो छवि अनुसारको खेल पस्कन सके ब्राजिलले सहज जित हात पार्नेछ । चोटका कारण अघिल्ला दुई खेल गुमाएका डिफेन्डर ड्यानिलो आजसाँझको खेलमा देखा पर्दैछन् । सर्वियाविरुद्धको खेलमा चोट बोकेका लेफ्टक्याक मार्सेलोको अभाव टिमलाई हुनेछ । तर, उनको स्थानमा खेल्ने फिलिपे लुइजले पनि गज्जवको प्रदर्शन गरेका थिए । टिटे प्रशिक्षक भएर आएपछि ब्राजिलले एक खेलमा मात्र पराजित भएको छ । 

यता, मेक्सिको ब्राजिललाई हराउँदै क्वार्टरफाइनलमा पुग्ने रणनितीका साथ मैदानमा उत्रदैछ । समूह चरणको पहिलो खेलमा विश्व विजेता जर्मनीलाई १—० ले पराजित गरेको मेक्सिकोले ब्राजिलविरुद्धको खेलमा जित हात पार्न चाहन्छ । समूहको दोस्रो खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २—१ गोलले तथा अन्तिम खेलमा स्विडेनसँग ३—० ले पराजित भएको थियो । 

सन् १९७० र १९८६ को विश्वकपको क्वार्टरफाइनलमा पुगे यता मेक्सिकोले खासै राम्रो नतिजा निकाल्न सकेको छैन् । यता ब्राजिल सन् २०१४ को विश्वकपको सेमिफाइनलबाटै बाहिरिएको थियो। ब्राजिल र मेक्सिको अहिलेसम्म २३ पटक आमने—समाने भएका छन् । जसमध्ये ब्राजिलले १२ खेलमा जित, ७ मा हार र ४ खेलमा बराबरी गरेको छ । 

पछिल्लोपटक यी दुई टिम सन् २०१५ को मैत्रीपूर्ण खेलमा भिडेको थियो । त्यतिबेला ब्राजिल २–० गोलले विजयी भएको थियो । त्यसअघि २०१४ को विश्वकपको समूह चरणमा यी दुई टिमले गोलरहित बराबरी खेलेको थियो ।

सर्वाधिक विश्वकपको उपाधि जितेर किर्तीमान बनाएको ब्राजिलले मेक्सिकोविरुद्धको खेलमा कस्तो प्रर्दशन गर्नेछ त्यो भने हेर्न बाँकी नै छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?