रसिया। स्पेनका मिडफिल्डर आन्द्रे इनियस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
आइतबारराति सम्पन्न भएको आयोजक रसियासँगको प्रि—क्वार्टरफाइनलमा स्पेन पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएको केहि समयपछि इनियस्टाले सन्यासको घोषणा गरेका हुन् ।
सन् २०१० मा स्पेनले विश्वकप जित्दा निर्णायक गोल गरेका ३४ वर्षीय इनियस्टा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । टाइब्रेकरमा पहिलो पेनाल्टी हानेका उनले गोल गरे । तर, कोके र आसपासको पेनाल्टी रसियन गोलरक्षकले रोकेका थिए । हारसँगै स्पेन नकआउट चरणबाटै बाहिरिएको थियो ।
इनियस्टाले राष्ट्रिय टोलीका लागि यो अन्तिम खेल भएको भन्दै अन्तर्राष्ट्रिय फुटबलको यात्रा सकिएको बताएका थिए । सन् २००६ देखि राष्ट्रिय टिममा आबद्ध भएका इनियस्टाले टिमबाट १३१ खेल खेल्दै १३ गोल गरिसकेका छन् ।
इनियस्टा दुई दशक भन्दा लामो समय बिताएको बार्सिलोना छाडेर यहि सिजन जापानिज क्लबमा आबद्ध भएका थिए । सन् २००८ र २०१२ को युरोकप तथा २०१० को विश्वकप जित्दा इनियस्टाले महत्वपूर्ण प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया