काठमाडौं । मायाका नाममा ताज महल बनाइन्छन्, रानी पोखरी बनाइन्छन् । यी त इतिहास नै भैहाले । यतिबेला भने आफ्नो प्रेमकथालाई लिएर एक जोडीले फिल्म निर्माण गरेका छन् ।
उमेश थापा र कविता गुरुङले आफ्नो वास्तविक कथालाई लिएर फिल्म ‘बोबी’ बनाएका छन् । त्यो पनि आफैले अभिनय गरेर ।
अबको केही हप्तामै यी दुईको वास्तविक कथा ‘फिल्म’ बनेर दर्शकमाझ आउँदैछ ।
आफ्नै कथामा आफै अभिनय गरेर किन फिल्म बनाए त उमेश र कविताले? यो प्रश्नको पाको जवाफ उनीहरुसँग पनि छैन ।
तर, आफ्नो फिल्म आफ्ना लागि दस्तावेज बन्छ भन्ने उनीहरुलाई लागेको थियो ।
वास्तविक कथालाई लिएर फिल्मको छायांकन गरियो ।
फिल्मलाई नर्वे र नेपालमा छायांकन गरियो । कथालाई सकभर तोडमोड गरिएन ।
यतिबेला उमेश थापा र कविता गुरुङ उमेर कटेपछि नायक–नायिका भएका छन् ।
फिल्मका नायक बनेका उमेश थापाले आफ्नो कथा पहिलेदेखि नै फिल्मी लागेकाले आफ्नै कथामा फिल्म बनाउन सकिनेबारे सोचेका बताउँछन् ।
एकदिन उनले नर्वेमा भेट भएका निर्देशक मिलन चाम्सलाई आफ्नो कथाका केही प्लट सुनाए । ती कथा सुनाउँदै गर्दा मिलन चाम्सका आँखा रसाएका थिए ।
कथा सुनेपछि चाम्सले भने – ओके डन । फिल्म बनाउने ।
‘त्यस्तै एक घण्टा भएको थियो होला, हाम्रो कथा सुनाउँदा सुनाउँदै मिलन दाइ रुनुभयो ।’, उमेश भन्छन् ।
उनको कुरामा नजिकै बसेकी सहयात्री तथा फिल्मकी हिरोइन कविता गुरुङ थप्छिन्, ‘वास्तविक कथामा वास्तविक पात्रले अभिनय गर्ने भनेपछि जोखिम त थियो तर खुशी पनि लागेको थियो ।’
फिल्ममा वास्तविक कथा नै खुलाइएको उमेश र कविता बताउँछन् । बरु कथा उमेशको नजरबाट भन्दा पनि कविताको नजरबाट बुनिएको छ ।
‘हो, डल्लुको कथालाई तानेर फिल्म बनाइएको छ, छोराको पनि सानो भूमिका छ, म नुहने त कुरै भएन ।’, उमेशले हाँस्दै थप्छन् ।
फिल्मको नाम किन बोबी त? ‘नाम खास मिलन दाइले नै रोज्नुभएको हो, उहाँले बनाएका धेरै फिल्ममा ‘ब’ बाट नाम आउने नै हुन्छन्, उहाँले नै बबाट जुराउनु भएको थियो ।’, उमेश थप्छन् ।
नजिकै बसेकी कविताले स्वीकार्छिन् ।
अभिनेत्री बनेकी कविताका अनुसार फिल्मको पूरै छायांकन वास्तविक घटना घटेका लोकेसनमै खिचिएको छ । एकपटक मन्दिरको दृश्य नजिकैको अर्को मन्दिरमा गर्न खोजेको तर ठूलो झरी परेपछि पहिलेकै मन्दिरमै पुग्नुपरेको उमेश बताउँछन् ।
‘हामीले छल गर्न खोज्दा पनि भगवानले पत्याउनुभएन झैं लाग्यो, पछि सबै शूटिङ जहाँ हामीले वास्तविक जीवन बिताएका थियौं, त्यहीँ नै फिल्म खिच्यौं ।’, कविता थप्छिन् ।
फिल्ममा चलेका कलाकार छैनन् तर फिल्म चाखलाग्दो छ कि भन्ने दर्शकलाई पनि लागेको छ । वास्तविक कथामा वास्तविक पात्र लिएर फिल्म बनाइएको पनि यो सम्भवतः पहिलो प्रयास हो नेपालमा ।
कास्कीकी कवितासँग उमेशको प्रेम बस्यो । उमेश थरमा थापा थिए, कविता गुरुङ थिइन् । जातीयताका हिसाबले मागी बिहे सम्भव थिएन । कुरा पनि चलाएका थिए, तर कविताको परिवारले मानेन ।
तर, यसमा कवितालाई दुखेसो छैन । ‘हाम्रो परिवार धनी पनि थियो, गाउँले केटा भन्नेबित्तिकै मान्ने कुरा भएन शायद, सानैदेखि म काठमाडौंमा काकासँगै हुर्कें ।’, कविता आफ्नो विगत सम्झँदै सुनाउँछिन् ।
अनि? उमेशले सुनाए, ‘मागी बिहे हुन सम्भव नभएपछि भागी बिहे ग–यौं ।’
बिहेपछि जीवनमा झनै उतारचढाव आएका रहेछन् । ‘अब सबै कथा भनेर त फिल्म के गर्नु? फिल्मी छ, फिल्म नै हेर्नुस् ।’, कविता हाँसिन् ।
अहिले नर्वेमा बस्दै आएका उमेश र कविताका एक छोरा पनि छन् ।
नर्वेमा भएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको र कतिले त यसको सिक्वेल निर्माण गर्न पनि भनेका रहेछन् । ‘फिल्म रुचाउनुभएको छ, नेपाली दर्शकले पनि रुचाउनुहुनेछ भन्नेमा हामी स्योर छौं’, उमेश थप्छन्, ‘फिल्म हेर्दा सबैले आफ्नै छोरा बुहारीको कथा भेट्नुहुनेछ ।’
नजिकै कविता मुसुक्क हाँस्छिन् । छेउको सोफामा बसेका छोरातिर देखाउँदै उमेश थप्छन्, ‘फिल्मले हामीलाई नोस्टाल्जिक बनाइदिएको छ, अब त छोरो पनि चौध वर्षको भयो, हाम्रो जस्तो कथा उसले पनि बनाउला नि ।’
छोरा बुझेझैँ गरी मुसुक्क हाँस्छन् । नर्वेको भाषा राम्रोसँग बुझ्ने उनका छोरा नेपालीभने राम्रोसँग बुझ्दैनन् ।
भिडियो हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया