काठमाडौं । इजिप्टका फरवार्ड मोहम्मद सलाहले इंग्लिस क्लब लिभरपुलसँग पाँचवर्षको सम्झौता नवीकरण गरेका छन् ।
नयाँ सम्झौता अनुसार सलाहले २०२३ सम्म लिभरपुलमा नै रहने नवीकरण गरेका हुन् ।
अघिल्लो सिजन उच्च प्रदर्शन गरेका सलाहलाई विभिन्न ठुला क्लबहरुले नजर लगाइरहँदा सलाहले लिभरपुलमा नै लामो समयको सम्झौता नवीकरण गरेका हुन् ।
सलाहले लिभरपुलमा आबद्ध भएको पहिलो सिजनमा नै सनसनीपूर्ण प्रदर्शन गरेका थिए । इंग्लिस क्लब चेल्सीका पूर्व फरवार्ड सलाह इटालियन क्लब रोमाबाट गत सिजनमा मात्र लिभरपुलमा आबद्ध भएका थिए । अघिल्लो सिजन सलाहले लिभरपुलबाट ५२ खेलमा ४४ गोल गर्न सफल भए । इजिप्टका सलाह प्रिमियर लिगको ३८ खेलमा ३२ गोल गर्दै गोल्डेन बुट जित्न सफल खेलाडी समेत हुन् ।
सलाहकै प्रदर्शनमा लिभरपुल आठ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । तर, २६ वर्षीय फरवार्ड फाइनल खेलमा घाइते भएपछि पुरा समय मैदानमा बिताउन पाएका थिएनन् । त्यतिबेला लिभरपुल रियल म्याड्रिडसँग फाइनलमा ३–१ ले पराजित हुँदै उपाधि जित्नबाट बञ्चित बनेको थियो । यता जारी विश्वकपमा पनि सलाहले इजिप्टका लागि २ खेलमा २ गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया