‘पिर’का विषयमा सपूतको प्रतिक्रिया : मलाई कुनै कित्तामा नउभ्याइदिनुहोला !

लोकपथ
770
Shares

काठमाडाैं । ‘पिर’ गीतका बारेमा विवाद आएपछि गायक प्रकाश सपूतले प्रतिक्रिया दिएका छन् । उनले आज फेसबुकमा स्टाटस लेख्दै पिरलाई कलाको दष्टिले मात्र हेरिदिन आग्रह गरेका छन् ।

यतिबेला सबै सामाजिक सञ्जाल र मिडियामा पिर र पिरले उठाएका विषयका बारेमा पक्षविपक्ष भएर बहस चलिरहेको छ । माओवादीका केही नेताहरुले गीतका विषयलाई लिएर विरोध गर्दै युट्युबबाट गीत हटाउन समेत धम्की दिएका छन् भने अन्य पार्टी र सर्वसाधारणले समर्थन गर्दै स्याबासी दिएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहलले समेत यसबारे प्रतिक्रिया दिएका छन् । उनले गीतलाई अनावश्यक विवादमा तान्न नहुने बताएका छन् । डा. बाबुराम भट्टराईदेखि थुप्रै नेता र आम सर्वसाधारणले सपूतको समर्थनमा लेखेका छन् ।

सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने उनको भनाइ छ । जसले गर्दा केही दर्शक स्रोतलाई कर्मा परेको महशुस गरेको उनले प्रस्ट पारेका छन् ।

गीतले भन्ने चाहेको कुरा सबैलाई अवगत भइसकेकेको भन्दै उनले भनेका छन्, ‘एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महसुस भएको छ । मैले सवै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यतिबेला आफ्नै सिर्जना तपाईंहरूका नजरबाट नियालिरहेको छु । मैले गल्ती गरेको हो कि ? तपाईंहरू (केही) ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु ।’

पिरबाट आफूले युद्धकै जगबलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको उनको भनाइ छ । समानताको लागि एकसाथ लडेका कमरेडहरूबीचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको उनको भनाइ छ । गीतमार्फत आफूले एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको बताए ।

‘मलाई लागेको यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरूमा त्यसबारे लेखिदै पढिँदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?’ उनले लेखेका छन् ।

उनको प्रतिक्रिया जस्ताको तस्तै :

नमस्कार !
’पिर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै–धेरै धन्यवाद ! सबैको अपेक्षाअनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाई सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ । त्यसैले मेरो नयाँ गीत पिरका कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महसुस गरेको छ ।

गीतले भन्न चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ । एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरुको उपेक्षा गर्न हुन्न भन्ने मलाई महसुस भएको छ । मैले सबैखालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यतिबेला आफ्नै सिर्जना तपाईँहरुका नजरबाट नियालिरहेको छु । मैले गल्ती गरेको हो कि ? तपाईंहरु (केही)ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दै छु ।

पिरबाट मैले युद्धकै जग/बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो । समानताको लागि एकसाथ लडेका कमरेडहरुबीचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हो । एक नागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको हो । मलाई लागेको यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरुमा त्यसबारे लेखिँदै/ पढिँदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?

जसरी यसअघिका गीतहरु ‘बोल माया’, ‘दोहोरी ब्याटल’, ‘गल्बन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’, ‘मेरो पनि हैन र यो देश’, ‘कुरा बुझ्न पर्छ’ गीतहरुमा कथा बुन्थेँ, पात्र बनाउँथेँ, टुक्का टिप्थेँ, लय हाल्थेँ र रेकर्ड/ छायाङ्कन गर्थेँ । यसमा पनि त्यही प्रक्रिया छ ।

गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु । ६ वर्षअगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने/बजाउने/ पकाउने/ पस्कनेमध्येका थुप्रै सहकर्मीहरु पूर्वलडाकु थिए । उनीहरु चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु । प्रतीकात्मक रुपमा दृष्यहरु निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ‘पिर’। यो बीचमा मैले यस्ता पात्रहरुको अवस्था, स्वभाव, सोचको अध्ययन गरेँ । केही पात्रहरुसँग भेटेर कुराकानी पनि गरेँ । केही पात्रहरु पढेँ । आम मानिसका भोगाइ र संवेदनाहरु बुनेँ र भिडियो बनाएँ । मेरो पेसा र पहिचान यही हो ।

एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिँदैन । पूरै बुझाइ आउँदैन । त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदै छ, त्यसमा अर्कै दृष्टिकोण समेटौँला । अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृश्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृश्य हो ।

प्रतिकात्मक रुपमा राखिएका यस्ता दृश्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु । यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु । माफी मागेको छु । अब यस्ता पात्रहरु छन् वा छैनन् भन्नेतर्फ नजाऔँ । त्यसो हो भने मुनामदन छन् कि छैनन् ? सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगवीर र सकम्बरी कहाँ होलान् ? कहाँ होला घुम्ने मेचमाथि बसेको अन्धो मान्छे ? खैर, भिडियोलाई फेरि एक पटक अक्षरंश हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन । बरु भएभरका परिवर्तनको जस दिइएको छ । भिडियोमा देखिएका पात्रहरु जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरुको अवस्थाको गीत किन नगाउने भन्ने हो ? अब भिडियो नै हटाउँदा पो युद्ध/आन्दोलन/गणतन्त्र/स्वतन्त्रताको अपमान हुने हो कि ? म अत्यन्त अन्तरमुखी र शान्त मनुवा हुँ । म सर्जक हुँ, सिर्जना नै मेरो विचार हो ! आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होइन ! मैले कसैसँग पनि यो विषयमा सहयोग/ सल्लाह लिएको छैन । त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौँ तर यसलाई राजनीतीकरण नगर्न सबैसँग अनुरोध गर्दछु ।

मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु ! मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनुहोला ! कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष /विपक्षमा एकोहोरो भइन्छ ! नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ ! विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौँ, समीक्षा गरौँ ! तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एक पटक इमान्दार भएर विचार गरौँ ।

समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्वीकारीसक्नु भएको छ ! त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो । भिडियो हेरिरहँदा जुन–जुन दृश्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यसप्रति म फेरि पनि क्षमा चाहन्छु ! यसलाई कलाको दुष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ! कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई द्वविधामा नपारौँ । नअल्झाऔँ । किनकि समाजमा टिप्नुपर्ने कैयौँ कथा छन् ! गाउनुपर्ने कयौँ, गीत छन् ! तपाईँले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौँ प्रश्नहरु छन् । प्रश्नहरुलाई निरुत्साहित नगरिदिनुहोस् ।
प्रकाश सपुत, सर्जक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?