स्वीट्जरल्याण्ड स्वर्णिम अक्षरले इतिहास लेख्ने दाउमा !

रसिया । जारी फिफा विश्वकप फुटबल अन्तर्गत आजसाँझ स्वीट्जरल्याण्ड र स्विडेन आमने—सामने हुँदैछ । 

विश्वकप फुटबलमा स्वीट्जरल्याण्ड ६४ वर्षपछि अन्तिम आठमा पुग्दै स्वर्णिम अक्षरले इतिहासमा नाम लेखाउने रणनीतिका साथ मैदानमा उत्रदैछ । स्वीट्जरल्याण्ड र स्वीडेनविचको खेल सेन्ट पिटर्सवग स्टेडियममा आजसाँझ नेपाली समयअनुसार पौने ८ बजेपछि शुरु हुँदैछ ।

उत्साही युवा खेलाडीले भरिपूर्ण स्वीट्जरल्यान्डले स्वीडेनलाई दबावमा राख्ने देखिएको छ । स्वर्णिम पुस्ताका स्वीस युवा खेलाडी र त्यसले भविष्यमा छाड्ने प्रभावको आजसाँझ परीक्षा हुनेछ । स्वीस टिमका कप्तान स्टेफन लिचेस्टाइनर र फाबिन स्चरको अनुपस्थिति टोलीका लागि महँगो साबित हुन सक्नेछ ।

दुई पहेँलो कार्डका कारण यी दुई खेलाडीले प्रि—क्वाटरफाइनलको खेल गुमाउनेछन् । उनीहरु स्वीस टोलीका महत्वपूर्ण खेलाडी हुन् । कप्तान लिचेस्टाइनर र  स्चर बाहेक टिममा युरोपियन लिगमा खेल्ने रिकार्डो रोड्रिग्वेज, जेर्डान साकिरी र ग्रान्ट झाका जस्ता प्रतिभावान र अनुभवी खेलाडीहरु छन् । 

सन् १९५४ मा घरेलु मैदानमा आयोजना गरेको विश्वकप फुटबलमा स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा पुगेको थियो । त्यसअघि सन् १९३४ र १९३८ मा सम्पन्न भएको खेलमा पनि स्वीट्जरल्याण्डले अन्तिम ८ को स्थान तय गरेको थियो । सन् १९५८ को उपविजेता तथा सन् १९९४ मा तेस्रो स्थान हात पारेको स्वीडेन टिममा नाम चलेका स्टार खेलाडीहरु छैनन् । तर, समूह चरणमा उत्कृष्ट खेल प्रर्दशन गर्दै समूह ‘एफ’ को विजेता बन्दै अघिल्लो चरणमा पुगेको थियो । स्वीडेनले समूह चरणमा जर्मनीलाई पछि पारेको थियो । 

स्वीडेनले पनि नकआउट चरणको यात्रा तय गर्न निकै मिहिनेत गर्नुपरेको थियो । समूह चरणको खेलमा स्वीडेनले डिफेन्डिङ च्याम्पियन जर्मनीसँग हार बेहोरेको थियो भने दक्षिण कोरिया र मेक्सिकोलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो । यसमध्ये स्वीडेन कप्तान आन्द्रेस ग्रान्टभिस्टको नाममा मात्र दुई गोल छ ।

सन् १९९४ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको स्वीडेनसँग बलियो मिडफिल्ड छैन । स्वीडेन प्रशिक्षक जेन एन्डरसनले आफ्नो योजनामा अहिले नै टाइब्रेकरका लागि खेलाडी सूचि रहेको बताएका छन् ।

अहिलेसम्म स्वीट्जरल्याण्ड र स्वीडेन ३ पटक मात्र भिडेका छन् । तिनै भेटमा स्वीट्रल्याण्डले १ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?