कोलम्बियालाई टाइब्रेकरमा हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

रसिया। इंग्ल्याण्ड जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

स्पार्टक स्टेडियममा मंगलबारराति सम्पन्न प्रि—क्वार्टरफाइनलको अन्तिम खेलमा इंग्ल्याण्डले कोलम्बियालाई टाइब्रेकरमा ४—३ गोल अन्तरले हराउँदै अन्तिम आठमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको निर्धारित समय र थपिएको समयमा पनि दुवै टिमबाट समान एक—एक गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।  

पेनाल्टीमा इंग्ल्याण्डका एक खेलाडी चुक्दा कोलम्बियाका दुई खेलाडीको पेनाल्टी गोल हुन सकेन । कोलम्बियाका आन्द्रेस युरिवको पेनाल्टी क्रसबारमा लागेको थियो भने कार्लोस बाक्काको प्रहार इंग्ल्याण्डका गोलरक्षक जोर्डन पिकफोर्डले उत्कृष्ट बचाएका थिए ।

कोलम्बियाका कप्तान रामाडेल फाल्काओ, लुइस मुरियल र जुहान कार्डाडोले गोल गरेका थिए भने इंग्ल्याण्डका कप्तान ह्यारी केन, मार्कोस राशफोर्ड, केरन ट्रिपियर र इरिक डायरले गोल गरेका थिए । जोर्डन हेण्डरसनको प्रहार कोलम्बियाली गोलरक्षक डेभिड रामिरेजले बचाएका थिए ।

सन् १९६६ को विश्वविजेता  इंग्ल्याण्डले विश्वकपमा पेनाल्टी सुटआउटबाट खेल जितेको यो इतिहासमा नै पहिलो पटक हो ।

यसअघि विवादास्पद पेनाल्टीमा ह्यारी केनले गोल गरेपछि इंग्ल्याण्डले १—० को अग्रता लिएको थियो । कोलम्बियाली डिफेण्डर कार्लोस सान्चेसले डिबक्सभित्र इंग्लिस कप्तान केनलाई फल गरेपछि इंग्ल्याण्डले खेलको ५७ औं मिनेटमा पेनाल्टीको हान्ने अवसर पाएको थियो ।

तर, निर्णयमा आपत्ती जनाउँदै कोलम्बियाली खेलाडीले लामो समयसम्म रेफ्रीसमक्ष अपील गरेका थिए । यद्धपी, रेफ्रीले निर्णय परिवर्तन गरेनन् । त्यस्तै, खेल सकिैन लाग्दा कोलम्बियाका यारी मिनाले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । 

इंग्ल्याण्ड र कोलम्बियाविचको खेलसँगै नकआउट समिकरण पूरा भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?