नाम : ठूलीमाया
उमेर : ५० वर्ष
केही वर्षसम्म ठूलीमाया कहिले हिँड्दा हिँड्दै अल्झेर लड्थिन् त कहिले आगोमा झोसिन्थिन् ।
कारण, मोतिबिन्दु ।
उपचारका लागि तिलगङ्गा आँखा अस्पताल आइन् ।
उनलाई मोतिबिन्दु भएको रहेछ । शल्यक्रिया गर्नु पर्ने भयो ।
उनलाई डोयाईंदै शल्यक्रिया गर्ने कोठामा लगियो ।
५ मिनेटमा देब्रे आँखाको शल्यक्रिया सकियो । थप ५ मिनेटमा दाहिने आँखाको ।
कति वर्षपछि उनले आफ्ना श्रीमान र छोराछोरीलाई देख्न पाइन् ।
सुन्दा जादु जस्तो लाग्ने यो घटना सत्य कथामा आधारित छ ।
र, यो कथाका हिरो हुन् डा.सन्दुक रुइत । ‘दृष्टिका देवता’ ।
संसारमा त्यस्ता कैयौँ व्यक्तिहरु छन् जसले मोतिबिन्दुका कारण आफ्नो आँखाको ज्योति गुमाएका छन् । कति त जन्मजात नै दृष्टिविहीन भएर पनि जन्मिन्छन् ।
आँखाको उपचार र शल्यक्रियाका निमित्त भारी रकम लाग्ने भएकाले निम्न आर्थिक अवस्था भएका व्यक्तिहरु आफ्नो ज्योति गुमाउन बाध्य छन् ।
तर दृष्टिविहीनका जीवनमा ज्योति बनी आए डा सन्दुक रुइत ।
नेपाली नेत्र चिकित्सा क्षेत्रमा क्रान्ति ल्याएका छन् रुइतले ।
कमजोर पारिवारिक पृष्ठभूमिदेखि संघर्ष गर्दै उनले हाँसिल गरेको सफलताको उचार्इंसम्म को कथा अत्यन्तै प्रेरणादायी छ ।
हिमालका छोरा रुइत
रुइतको जन्म वि सं १९९५ मा ताप्लेजुङको ओलाङचुङगोलामा भएको थियो जहाँ पुग्न सदरमुकामबाट ४ दिन लाग्छ ।
उनका पिता नेपाल–तिब्बतबीच नुन, चामलको व्यापार गर्थे ।
उपचारको अभावमा आफ्ना ३ दाजुदिदीलाई गुमाएका कारण रुइतले सानैदेखि चिकित्सक बन्ने सपना देखेका हुन् ।
उनका पिताले आफ्नो कमजोर आर्थिक अवस्थाका बावजुत पनि आफ्ना छोराछोरीको शिक्षादिक्षामा कुनै कमी हुन दिएनन् ।
शिक्षा
आफ्नो ठाउँदेखि सबैभन्दा नजिकैको विद्यालय पुग्न ११ दिनभन्दा बढी लाग्थ्यो । त्यसैले रुइतलाई उनका पिताले दार्जिलिङको विद्यालयमा भर्ना गरिदिए ।
सानैदेखि पढाईमा अब्बल रुइतले केही वर्ष दार्जिलिङमा पढेपछि काठमाडौँकै विद्यालयबाट एस.एल.सी उत्तीर्ण गरे ।
त्रिचन्द्र कलेजबाट आईएससी गरेपछि उनी छात्रवृत्ति कोटामा एमबिबिएस गर्न भारत पुगे ।
उनले एमबिबिएस गरेपछि नेपाल आएर वीर अस्पतालमा ’जनरल फिजिसियन’का रूपमा तीन वर्ष बिताए ।
फेरि भारतको विश्व विद्यालयमा एमडी गर्न थाले । तीन वर्षमा एमडी गरेपछि नेपाल फर्किए र त्रिपुरेश्वर आँखा अस्पतालमा जागीरे भए ।
त्रिपुरेश्वर आँखा अस्पतालमा आठ वर्ष काम गरेपछि एकवर्षे अध्ययन गर्न अस्ट्रेलिया गए ।
अस्ट्रेलिया बसेकै वेला उनलाई अमेरिका, युरोप, अस्ट्रेलियाबाट पनि कामका लागि प्रस्ताव आयो । तर उनले तिनलाई स्वीकारेनन् र नेपाल नै फर्किए ।
दृष्टि निर्माण
त्यसताका विकासोन्मुख देशहरुमा मोतिबिन्दु व्याप्त थियो । उपचार खर्च महंगो भएकाले अधिकांश संक्रमित रोगीहरुले आफ्नो ज्योति गुमाउनुपर्ने अवस्था थियो ।
यस विषयलाई मध्यनजर गर्दै रुइतले ‘रुइतेक्टोमी’ (विश्व विख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापद्धती) नामक उपचार पद्धतिको विकास गरे जस अन्तर्गत उनले निम्न वर्गीय
व्यक्तिहरुले पनि एफर्ड गर्न सक्ने लेन्सको निर्माण गरे ।
सो पद्धति अहिले संसारकै विभिन्न मेडिकल कलेजहरुमा पढाई हुन्छ ।
अत्यन्तै सस्तो अनि झनै प्रभावकारी पद्धतिबाट आँखाको ज्योति फर्काउन सक्ने भएकाले अहिले विश्व जगतले नै यसलाई नेत्र चिकित्साको क्षेत्रमा ठूलो उपलब्धिका रुपमा लिएको छ ।
यसरी बन्यो तिलगंगा….
रुइत चाहन्थे सबैले यो सुन्दर संसार हेर्न पाउन् । पैसाको अभावले कसैले आफ्नो ज्योति गुमाउनु नपरोस् ।
नेपालमा एउटा राम्रो आँखा अस्पतालको खाँचो छ भन्ने कुरा उनलाई राम्रो सँग थाहा थियो ।
अष्ट्रेलियाली नागरिक डाक्टर फ्रेड हलोज, समाजसेवी तथा साहित्यकार जगदीश घिमिरे, कलाकार मदनकृष्ण र हरिवंश, उद्यमी रवीन्द्र श्रेष्ठ, उद्योगपति दिवाकर गोल्छा, डा.रीता गुरुङ लगायतले
उनको योजना पूरा गर्न सहयोग गरे । त्यसैको उपजस्वरुप सन् १९९४ मा तिलगंगा आँखा प्रतिष्ठानको स्थापना भयो ।
तिलगंगामा सुपथ मूल्यमा अन्तराष्ट्रिय स्तरको उपचार सेवा प्रदान गरिन्छ । यहाँ ९० हजार भन्दा बढी शल्यक्रिया भइसकेका छन् ।
तिलगंगाले बार्षिक ४ लाख ५० हजार सुक्ष्म लेन्सपनि उत्पादन गर्छ । यसको उत्पादन लागत प्रति गोटा जम्मा ३ डलर छ र यसको गुणस्तरपनि निकै उच्च छ । जबकी यही लेन्स बनाउन पश्चिमी देशले
२०० डलर खर्च गर्छन । यहाँ निर्माण भएको लेन्स युरोप सहित विश्वका ५० भन्दा वढी देशमा निकासी हुन्छ ।
एकै ठाउँ बस्दैनन् रुइत
रुइत अस्पतालको ४ भित्तामा मात्र सिमित छैनन् । ग्रामीण भेगमा बसोबास गर्ने, उपचार खर्च जुटाउन नसक्ने का लागि उनीहरुकै गाउँमा गई निःशुल्क आँखा शिविर आयोजना गर्छन् ।
उनी विश्वका विभिन्न ठाउँ घुमेका छन् । आँखाका शल्यक्रिया र उपचार मार्फत् धेरैजनाको ज्योति फर्काएका छन् ।
उनले अहिलेसम्ममा करिब १ लाखभन्दा बढी मानिसलाई ज्योति दिइसकेका छन् । जुन इतिहासकै सर्वाधिक मानिन्छ । जीवनमै कहिल्यै आँखा नदेखेकोले पहिलो पटक आँखा खोल्दा आफ्नो
चिकित्सक अर्थात् रुइतलाई देख्दा भावविह्वल भएर रोएका पनि छन् ।
………..
उनले विभिन्न देशबाट मानसम्मान र पुरस्कार पनि प्राप्त गरेका छन् ।
उनलाई सन् २००६ मा एसियाकै नोबल प्राइज मानिने ‘रमन म्यागसेसे अवार्ड’ प्रदान गरिएको थियो । साथै छिमेकी देश भारतले उनलाई सन् २०१८ मा पद्मश्री पुरस्कारले सम्मानित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया