नविता विजेश्वरीको ‘ब्रान्ड एम्बासडर’

काठमाडौं।  विजेश्वरी माविले आफ्नो पूर्व विद्यार्थी टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठलाई बुधबार ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको छ ।

अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यको उपस्थितिमा नविता र विजेश्वरीकी प्रिन्सिपल विन्दु तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

मुख्यतः विजेश्वरी स्कुल र स्कुलको टेबलटेनिसको प्रवद्र्धनलाई गरिएको सम्झौता हाललाई एक वर्षको हुनेछ । अवस्था हेरेर पछि सम्झौता लम्बिन सक्ने विजेश्वरीकी प्रिन्सिपल तुलाधरले बताइन् ।

‘ब्रान्ड एम्बासडर’ भए वापत विजेश्वरीले नवितालाई १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने छ । कुनैपनि संस्थाले टेबलटेनिस खेलाडीलाई ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको यो नै पहिलो पटक भएको बताइएको छ ।

नविताले विजेश्वरीमा नर्सरीदेखि एसएलसी (हाल एसईई) सम्म अध्ययन गरेकी थिइन् । नविता लगातार सातौं पटककी राष्ट्रिय च्याम्पियन हुन् । नेपाली टेबलटेनिसको इतिहासमा सबै भन्दा बढी राष्ट्रिय च्याम्पियन बनेको कीर्तिमान सागकी स्वर्णधारी सिजरिन शाहको नाममा छ ।

सिजरिन लगातार नभइ फरक समयको अन्तरालमा ८ पटक राष्ट्रिय च्याम्पियन बनेकी थिइन् । कार्यक्रममा प्रिन्सिपल तुलाधरले विजेश्वरी टेबलटेनिस खेलमै बढी केन्द्रीत भइ उत्कृष्ट खेलाडी उत्पादन गर्न सकेकोले नवितालाई ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरिएको बताइन् ।

नविताले विजेश्वरीमा पाएको ‘प्लेटफर्म’ बाटै आफू आज यो स्थानमा पुग्न सफल भएको बताउदै आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताइन् ।

टेबलटेनिस संघका अध्यक्ष वैद्यले नविता टेबलटेनिसको रोल मोडल भएको धारणा व्यक्त गर्दै विजेश्वरीको चाहनालाई पूरा गर्न नविता सफल हुने विश्ववास व्यक्त गरे ।

विजेश्वरीका चेयरम्यन डा. मणिकरन्त तुलाधरले अत्तिरिक्त क्रियाकलापमा उत्कृष्ट गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सुरुआत गरिएको बताउदै सम्मानले अन्य विद्यार्थी समेत प्रेरित हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?