काठमाडौं । देशको सेवा गरेर आफ्नो जीवन बिताउने उर्मिलाका सपना यति छिटै अस्ताउँछन् भन्ने कसैले साेचेका थिएनन् ।
उदयपुरको त्रियुगा जनता क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरेपछि नेपाल प्रहरीमा भर्ती हुने सपना देखेकी उर्मिलाकाे त्याे सपना त २०७६ साउन १ गते नै पूरा भयाे ।
तर नेपाल प्रहरीमा रहेर सरकारी सेवासँगै थुप्रै सपना बुनेकी २६ वर्षीया उर्मिलाका बाँकी सबै सपना अस्ताएका छन् । नेपाल प्रहरीको रुपमा काम गरेकाे ३ वर्ष पनि पूरा नहुँदै उनको जीवनमै फुलस्टप लाग्याे ।
२ वर्ष प्रहरी सेवामा रहेर काम गर्दै गरेकी उर्मिलाको १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा कार्यरत थिइन् । उनको दिनचर्या सामान्य ढङ्गले ड्युटी गर्दै बितिरहेको थियो ।
यसैबीच, मोरङ लेटाङ न पा ५ स्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको खबर सार्वजनिक भयो । घटनाले निकै उग्र रुप लियो । घटनापछि लेटाङ प्रहरीले आरोपी शिक्षकलाई अनुसन्धानका लागि नियन्त्रणमा लियो ।
स्थानीय र विद्यार्थीहरु घटनाप्रति निकै आक्रोशित भएका थिए । प्रहरीले आरोपी शिक्षकलाई नियन्त्रणमा लिँदा पनि त्यहाँको अवस्था सामान्य थिएन ।
प्रहरीले आरोपी शिक्षकलाई बचाउन लागेको भन्दै आक्रोशित स्थानीयहरुले क्याम्पस घेराउ गरे। स्थिति नियन्त्रणभन्दा बाहिर भएपछि मोरङ प्रहरीले १ नं प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट ५० जना प्रहरी सुरक्षाका लागि बोलायो ।
त्यही ५० जनाको टोलीमा उर्मिला पनि थिइन् । दिनभर भएको नाराबाजीपछि साँझतिर झडप नै सुरू भयो ।
स्थिति नियन्त्रणभन्दा बाहिर पुगेपछि बाक्लै संख्यामा प्रहरीहरु खटिएका थिए । नाराबाजी चल्दै थियो । एक्कासि उर्मिला चिच्याएर भुइँमा लडिन् । उनको घाँटीबाट रगत बगिरहेको थियो । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भयो ।
उनको घाँटीमा चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसी बताउँछन् ।
उर्मिलाको गत वैशाख १९ गते प्रहरी सेवामै रहेका कुमार श्रेष्ठसँग विवाह भएको थियो । उनीहरुको दरबन्दी फरक भएकालले उनको श्रीमान् जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत छन् ।
घटनापछि हाल उनको श्रीमान् श्रेष्ठ विराटनगर आएका छन् । केही समयपछि उनीहरु सँगै बस्ने योजनामा थिए । श्रीमान् श्रीमतीनै एकै सेवामा भएकाले उनी निकै खुशी थिइन् । दरबन्दी फरक भएकाले अहिले छुट्टै बसेका उनीहरु सँगै बस्ने योजनामा थिए ।
अब उनीहरूकाे त्याे याेजना कहिल्यै पूरा नहुने भयाे । बिहे भएकाे १ वर्ष पनि नपुग्दै उर्मिलाले कुमारलाई सधैँका लागि छाेडेर गइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उर्मिलाको हत्यामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै उक्त घटनाको छानबिन गर्न निर्देशन पनि दिएका छन् ।
फागु खेल्ने क्रममा शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेपछि मोरङ लेटाङ न पा ५ स्थित शिक्षा विकास माविका एक शिक्षकले सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दुर्व्यवहार गरेपछि आइतबार छात्रछात्रा, अभिभावक र शिक्षकसहित छलफल भएको थियो । सो आक्रोशित अभिभावक, विद्यार्थीहरुले तोडफोड र आगजनी समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया