काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब ९३ करोड २६ लाख रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव गरेको छ । राष्ट्र बैंकले बिहिबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतको नाउमा सूचना जारी गर्दै उक्त परिमाणको रकम लगानीको लागि प्रस्ताव आव्हान गरेको हो ।
विभिन्न कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्धती निक्षेपकोरुपमा २०७९ वैशाख दुई गतेदेखि २०८० वैशाख एक गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
लगानीको लागि छु्ट्याइएको कुल रकममध्ये वाणिज्य बैंकहरुको लागि एक अर्ब ५४ करोड ६२ लाख, बिकास बैंकहरुको लागि २८ करोड ९८ लाख र फाइनान्स कम्पनीहरुको लागि नौं करोड ६६ लाख रुपैयाँ रुपैयाँ छुट्याइएको छ ।
रकम लगानी गर्न चाहाने इच्छुक तथा फाइनान्स कम्पनीहरुले यही चैत्र १७ गतेसम्ममा आफ्नो संस्थाले राख्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको लगायतका न्युनतम प्रावधानहरु तोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया