गुफामा थुनिएका १३ जनाको उद्धारकार्य शुरु

थाइल्याण्ड । थाइल्याण्डको एउटा गुफामा थुनिएका १२ जना बालक र एक जना उनीहरुका प्रशिक्षक सहित १३ जनाको उद्धार कार्य आइतबार पनि विहानैबाट सुरु भएको छ । 

दक्षिणी थाइल्याण्डमा रहेको एउटा गुफामा करिब दुई हप्तादेखि फसेका उनीहरुको उद्धार कार्य स्थानीय समय अनुसार आइतबार बिहान १० बजे शुरु भएको सरकारी अधिकारीहरुले बताएका छन् । 

उद्धारका लागि १३ जना अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको नारोङसाक ओसोटानाकोमका गभर्नर चिआङ रायले जानकारी दिए । 

उद्धार टोलीमा पाँच जना सेनाको विशेष टोली पनि सहभागी गराइएको उनले बताएको सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ । 

फसेका १२ बालक र उनीहरुका एक जना फुटबल प्रशिक्षकलाई एक एक गरेर बाहिर निकालिने भएको छ । उनीहरुमध्ये पहिलोलाई आइतबार बिहान काम सुरु गरेको झण्डै एघार घण्टामा गुफाबाट बाहिर निकाली सकिने गभर्नर रायको अनुमान छ । 

उनीहरुलाई बाहिर निकाल्न करिब १०० स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ । 

गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३०० मीटर लामो रहेको उद्धार कार्यमा खटिएकाहरुले जानकारी दिएका छन् । 

ती प्वालबाट अक्सिजन भित्र पठाउन सकिने र त्यसैबाट गुफाभित्रको ग्याँस पनि बाहिर आउने भएकोले उद्धारकर्ता सजिलै गुफाभित्र जान सक्ने तथा र ती बालकको उद्धार गर्न सजिलो हुने उनीहरुले बताएका छन् । 

यो विधि अपनाउँदा भित्रछिर्न पनि सजिलो पर्ने र गोताखोरले सामान्य सावधानीका साथ भित्र गएर उनीहरुको उद्धार गर्नसक्ने अनुमान गरिएको छ । 

ठूलो सङ्ख्याका उद्धारकर्मी तथा सेनाले दुई दिन लगाएर विशेष प्रविधिको प्रयोगगरी यी चिम्नी निर्माण गरिएको यहाँको सेनाले जानकारी दिएको छ । 

उद्धारकर्ताहरुले सबैभन्दा पहिले एक बालकलाई आइतबारै बेलुका नौ बजेतिर बाहिर निकाल्ने छन् र क्रमशः अरुलाई पनि बाहिर निकालिने छ । अधिकारीहरुले १३ जनालाई नै बाहिर निकाल्न दुई देखि तीन दिन सम्म लाग्ने बताएका छन् । 

“उनीहरु उद्धारका क्रममा आइपर्न सक्ने चुनौतीहरु सामना गर्न तयार भएका छन्, चिकित्सा टोलीले पनि त्यसका लागि आवश्यक तयारी गरेको छ, गभर्नरले भन । 
गुफामा फसेका बालकहरु ११ देखि १६ बर्ष सम्मका रहेका छन् भने उनीहरुका प्रशिक्षक २५ वर्षका छन् । 

उनीहरु गएको जुन २३ देखि गुफामा फसेका हुन् । हराएको दिनदेखि खोजी गरिरहदा नवौँ दिनमा मात्रै उनीहरु भेटिएका थिए । उनीहरुको खोजी तथा उद्धारका लागि एक हजार जना उद्धारकर्ता परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?