काठमाडौं। ब्राजिल जारी विश्वकप फुटबलबाट बाहिरिएपछि प्रशिक्षक टिटेको भविष्यबारे प्रश्न उठेको छ ।
प्रशिक्षक टिटेले आफ्नो भविष्यबारे अहिल्यै कुनै निर्णय नलिने बताएका छन् । शुक्रबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा बेल्जियमसँग २–१ ले पराजित भएपछि ब्राजिल विश्वकपको उपाधि होडबाट बाहिरिएपछि उनको भविष्यबारे प्रश्न उठेको हो ।
सन् २०१४ को विश्वकपमा भने ब्राजिल आफ्नै घरेलु मैदानमा जर्मनीसँग सेमिफाइनलमा ७–१ ले पराजित भएको थियो ।
बेल्जियमसँग पराजित हुनुअघि टिटेको प्रशिक्षणमा ब्राजिलले १५ खेलको अपराजित यात्रा तय गरेको थियो । यसक्रममा टोलीले ३ गोलमात्र खाएको थियो ।
हारप्रश्चात प्रशिक्षक टिटेले नमीठो हार बेहोरेपनि अहिले नै पदबाट राजीनामाको बारेमा केही प्रतिक्रिया दिएका छैनन् ।
‘हामीले खेलका क्रम बलमा राम्रो पकड राखेका थियौं । गोल गर्ने अवसर पनि तुलनात्मक रुपमा बढी सिर्जना गरेका थियौं । तर हामीले पाएको मौका सदुपयोग गर्न सकेनौं र बेल्जियमले पाएको अवसर सदुपयोग गर्न सक्यो । बेल्जियम खेलमा अब्बल नभए पनि पाएको अवसर सदुपयोग गरेर खेल जित्न सफल भयो ’ उनले भने ।
मेक्सिकोविरुद्ध गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका नेयमारले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । खेलको अन्त्यतिर बेल्जियमका गोलरक्षक थिबाउट कोर्टियसले उत्कृष्ट बचाउ गर्दै उनलाई निराश बनाएका थिए ।
यता मार्सेलोले भने बिर्सनलायक नतिजा रहेको बताए । खेल अवधिभर आक्रामक रूपमा पनि बेल्जियमलाई समस्या दिइरहेका उनले हार स्वीकार्न कठिन भएको बताए ।
ब्राजिलको छैटौं विश्वकप उपाधिको लक्ष्य समाप्त हुँदा रोबर्टो मार्टिनेजले भने बेल्जियमको अन्तिम ४ मा पुग्ने ३२ वर्षको प्रतीक्षा टुंग्याए । बेल्जियमले अब फाइनलमा स्थान बनाउन फ्रान्सको सामना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया