३७ वर्षपछि फर्केको खुसी

लोकपथ
1.8k
Shares

काठमाडौं । इच्छाशक्ति भएपछि के हुँदैन र ? हो रहेछ, काभ्रेको खोपासीस्थित श्रीराम माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले झण्डै चार दशकपछि भेला भएर उदाहरणीय काम गरेका छन्।

स्कुले जीवनमा भोगेका भोगाइ र आजपर्यन्त सँगालेको अनुभव साटासाट गरेर गुरु–चेलाबीचको सम्बन्धलाई सुमधुर पार्ने अभियानको सुरुवात गरेका छन् श्रीराम माविमा अध्ययन गर्ने विद्यार्थीहरूले ।

आलोकाँचो उमेरमा शिक्षकले देखाएको बाटो विद्यार्थीहरूका लागि अप्ठ्यारो लाग्छ । तर त्यही घोरेटोले गन्तव्यमा पुर्‍याउँछ भन्ने बलियो उदाहरण बनेका छन् श्रीराम माविका शिक्षक र विद्यार्थीहरू।

नेपाली भाषा पढाउने गुरु विष्णुप्रसाद रिजाल र गणित विषयका शिक्षक प्राडा प्रकाशदास उलकलाई सम्मान गरेर खोपासीका विद्यार्थीहरूले टाढिएको शिक्षक–विद्यार्थीबीचको सम्बन्धलाई उचाइमा पुर्‍याएका छन्।

संगठित भएपछि जस्तोसुकै आपतविपत परे पनि समाधान गर्न सकिन्छ भन्ने सन्देश पनि दिएका छन् खोपासीका विद्यार्थीहरूले। दुई महिनाअघि अकस्मात आगलागी भएर आफ्नो उद्योग व्यापार नै गुमाएका सरद थापालाई पुनः उद्योग सञ्चालन गर्न भेला भएका साथीहरूले आर्थिक सहयोग जुटाइदिएका छन्।

एकले थुकी सुकी सयले थुकी नदी भनेजस्तै थापालाई आफ्ना सहपाठीले गरेको सहयोग वर्तमान अवस्थाका लागि अर्को मित्रताको बलियो उदाहरण बनेको छ।

लामो अन्तरालपछि भएको यो भेलाले अबका दिनमा निरन्तरता पाउने प्रतिबद्धता गर्दै भेला समापन भएको थियो। आफू अध्ययन गरेको विद्यालयका लागि के गर्न सकिन्छ त्याे गर्ने प्रतिबद्धता पनि उपस्थित भेलाले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?