काठमाडौं। रसियामा भइरहेको २१ औं संस्करणको फिफा विश्वकप फुटबल हेर्ने नेपाली दर्शक पहिलेको तुलनामा निकै घटेका छन् ।
विश्वकपमा सहभागी बलियो राष्ट्रहरु एक पछि अर्को गर्दै बाहिरिएपछि नेपाली फुटबल समर्थकहरु पातलिएको देखियो ।
मन परेको सहभागी टिम ब्राजिल, स्पेन, जर्मनी र अर्जेन्टिना बाहिरिँदा फुटबल हेर्ने दर्शकमा पनि कमी आएको देखियो ।
विश्वकपको खेल सेमिफाइनलसम्म आइपुग्दा अप्रत्यासित टिम इंग्ल्याण्ड, फ्रान्स, क्रोएसिया र बेल्जियम एक आपसमा आमने—सामने हुने तयारी रहेको छ ।
नेपालका पूर्व राष्ट्रिय खेलाडी भोला सिलवालले पाँच पटकको विश्व च्याम्पियन ब्राजिल क्वार्टरफाइनलबाट बाहिरिएसँगै मन खिन्न भएको बताए । वि.स. २०६५ सालमा राष्ट्रिय टोलीमा आबद्ध भएका सिलवाल ब्राजिलको ठूलो फ्यान थिए ।
उपाधि दाबेदारको हिसाबले ब्राजिललाई निक्कै बलियो टिमको रुपमा हेरिएको थियो ।
तर अप्रत्यासित रुपमा ब्राजिल क्वार्टरफाइनलमा बेल्जियमसँग २—१ गोल पराजित हुँदै बाहिरियो । ‘म पहिले देखि नै ब्राजिलको एकदमै ठूलो फ्यान थिएँ, मलाई यसपालिको विश्वकपको उपाधि ब्राजिलले जित्छ भन्ने थियो । तर क्वार्टरफाइनलमा पाएको दुई वटा कर्नरलाई पाउलिन्हो र थिएगो सिल्भाले युटिलाइज गर्नै सकेनन् । दोस्रो हाफमा फिलीप कौटिन्हो र नेयमारले गोल गर्ने मौका गुमायो ।’ उनले थपे ।
साथै, उनले फर्नान्डिहोले गरेका सुसाइड गोल ब्राजिलको ‘ब्याड लक’ भएको पनि बताए । ब्राजिलले खेल अवधिभर पुरै रक्षापंक्तिलाई मात्र फोकस दिँदा हार बेहोरेको जानकारी दिए ।
तस्वीर फेसबुकबाट
भारतको हैदराबादमा भएको एएफसी च्यालेन्ज कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा उत्तर कोरियाबिरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका सिलवालले विश्वकपको उपाधि फ्रान्स वा इंग्ल्याण्ड मध्ये एक टिमले जित्न सक्ने बताए ।
‘यसपालि फ्रान्सले अनएक्सपेक्टेड खेल खेल्दै आइरहेको छ । फ्रान्सको टिम सेट निक्कै राम्रो छ, यसअघिको खेलमा पनि फ्रान्सले बलियो टिमलाई हराइसकेको छ । रक्षापंक्ति र अग्रपंक्तिको भाग दुवै फ्रान्सको बलियो छ, खेल स्पिड पनि राम्रो छ’ सिलवाले भने ।
त्यस्तै, अहिले नेपाल पुलिस क्लबबाट खेल खेलिरहेका सिलवाल सन् २०१६ देखि राष्ट्रिय टिममा छैनन् । ‘एंकल’ मा समस्या आएपछि सिलवाल राष्ट्रिय टिममा फर्किएका छैनन् ।
विगत एक दशकदेखि राष्ट्रिय टिमलाई योगदान दिएका उनले ३८ खेल खेल्दै २ गोल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया