काठमाडौं– बेल्जियमलाई १–० हराउँदै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
योसँगै पहिलो पटक उपाधि जित्ने बेल्जियमको सपना चकनाचुर बन्न पुगेको छ ।
मंगलबार मध्यराती सम्पन्न प्रतिस्पर्धात्मक खेलको पहिले हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए ।
खेलको ५१ औं मिनेटमा फ्रान्सका सामुयल उम्टिटीले हानेको गोल नै निर्णायक बन्यो । उनले हेडमार्फत आकर्षक गोल गरेका थिए ।
५१ औं मिनेटमा उम्टिटीको गोल पछि डिफेन्स खेलेको फ्रान्सको पोस्टमा बेल्जियमका खेलाडिले एकपछि अर्को प्रहार गरेपनि गोल हुन सकेन । १–० गोलको हारसँगै बेल्जियम सेमिफाइनबाटै घर फर्किएको छ ।
फ्रान्स सन् १९९८ को विश्वविजेता पनि हो । हाल आएर फ्रान्स फेरि एकपटक उपाधि नजिक पुगेको छ । २० वर्षअघि फ्रान्स ब्राजिललाई ३–० गोल अन्तरले हराउँदै विश्व च्याम्पियन बनेको थियो । त्यसपछि सन् २००६ मा पनि फ्रान्स फाइनलमा पुगेको भएपनि इटालीसँग पराजित बन्न पुगेको थियो ।
फ्रान्सले अब इङ्ल्याण्ड र क्रोएशियाबीचको विजेतासँग फाइनल खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया