आयषा शाक्य, सन् २०१० साउथ एशियन गेम्समा तेक्वान्दाको तर्फबाट देशमा गोल्ड मेडल ल्याउन सफल खेलाडी ।
अहिले उनी दुई बच्चाकी आमा भइसकिन् तर तेक्वान्दोप्रति उनको माया उस्तै छ ।
भन्छिन् ‘खेल्न कहिल्यै छोड्दिन । तेक्वान्दो एडिक्ट नै भइसकेँ अब त ।’
आफनो व्यक्तिगत तथा खेलजीवनका बारेमा लोकपथसँग आयषाले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ :
करियर, त्यसपछि विवाह, अनि बच्चा । यति लामो समय भइसक्दा पनि आफूलाई जस्ताको त्यस्तै राख्न सफल हुनुहुन्छ । यसको राज के होला ?
यसको एक मात्र राज हो, आत्मसन्तुष्टि । मैले आफ्नो जीवनमा चाहेको हरेक कुरा पाएको छु ।
आफूले रोजेको बाटोमा हिँड्दै छु । त्यसैले होला यो मनभित्रको खुसी बाहिरै देखिएको ।
श्रीमान श्रीमती नै तेक्वान्दो खेलाडी । ६–७ वर्षसम्म प्रेम सम्बन्धलाई लुकाएर एक्कासि विवाह गरेर सबैलाई झट्का दिनुभएको थियो रे । कसरी सक्नुभयो आफ्नो माया लुकाउन ?
सम्बन्ध लुकाउने मन त थिएन । सबैले थाहा पाउनुहोस् नै भन्ने रहर थियो । तर त्यो समय ठीक थिएन ।
हामी दुवै जना राष्ट्रिय स्तरको खेलाडी । राज्यको लगानी थियो हामीमाथि अनि सबैको भरोसा पनि ।
केही गरेर हामीले राम्रो प्रस्तुति दिन सकेनौँ भने पनि सबैजनाले हाम्रो प्रेम सम्बन्धलाई नै दोष दिन्छन् भन्ने डर थियो ।
‘लभ गर्दै हिँडेपछि कसरी राम्रो खेल्छन् त ?’ भन्ने खालको आरोप पनि आउन सक्थ्यो ।
त्यसैले लुकीछिपी नै माया गर्नुप–यो ।
दिपक सर र तपार्इं गुरु र चेला पनि भनिन्छ । गुरुचेला बीच माया कसरी बस्यो ?
उहाँ मेरो आफ्नै गुरु होइन ।
मभन्दा सिनियर हुनुन्थ्यो । तर हाम्रो खेलमा चाहिँ आफूभन्दा सिनियरलाई पनि गुरु नै मानिन्छ ।
म नेश्नल टिममा पुग्दा त उहाँ धेरै फेमस भइसक्नु भाथ्यो ।
‘लभ इज ब्लाइन्ड’ भन्थे । हो रहेछ ।
माया कसरी बस्यो नै थाहा भएन । सधैँ केयर गर्ने, सधैँ बोलिराख्ने बानी बसिसकेको थियो ।
उहाँ एक दिन नबोल्दा, माया नगर्दा किन होला जस्तो लाग्थ्यो । हामीलाई नै थाहा छैन यो कहिले र कसरी सुरु भयो भनेर ।
त्योबेला नेपालमा अन्तरजातीय विवाह सहजै स्वीकार गरिँदैन थियो । परिवारबाट सर्पोट थियो विवाहको लागि ?
गाह्रो भएको थियो सुरुमा त । फेरि हाम्रो समुदाय मात्र नभएर ठाउँ पनि फरक । म काठमाडौंमा जन्मे हुर्केको मान्छे अनि उहाँ सुदूर पश्चिमको ।
तर पनि मैले श्रीमानको परिवारबाट साथ पाएँ । उहाँहरुले मेरो लागि सहज वातावरण सिर्जना गरिदिनुभयो ।
यस्तो विषयमा चाहिँ परिवारले भन्दा पनि समाजले ठूलो समस्या सिर्जना गर्दो रहेछ जस्तो लाग्छ मलाई चाहिँ ।
तर मैले जिन्दगी बुझेको थिएँ । अहिले दुःख छ तर भोलि फेरि सुखको दिन पनि आउँछ भन्ने सोचेर आफूलाई सम्झाएँ ।
तेक्वान्दो खेलाडीहरु आक्रमक, रिसाहा हुन्छन् भनिन्छ । यहाँहरु त दुवैजना तेक्वान्दो खेलाडी । कतिको झगडा पर्छ ?
खेल जीवन एक ठाउँमा छ । पारिवारिक जीवन अर्को ठाउँमा । श्रीमान श्रीमती भएपछि झगडा त नर्मल नै हो ।
झगडा पर्दा नबोली बस्ने, भनाभन हुने गर्छ तर त्यस्तो आक्रमक भएर हातै हाल्ने अवस्था चाहिँ अहिलेसम्म आएको छैन ।
दुईजनामा को फकाउन माहिर अनि को रिसाउन माहिर ?
हाहा.. दुवैजना बराबरी नै छौँ । हाम्रो नेचर एउटै छ ।
दुवैजना जिद्दी । तर उहाँ एकदम छिटो रिसाउनु हुन्छ ।
अनि १–२ घण्टा पछि आफै फकाउन सुरु गर्नुहुन्छ ।
तेक्वान्दोे खेल्न कति वर्षदेखि सुरु गर्नुभयो ?
म ८ वर्षको हुँदा देखि सुरु गरेँ । त्यति बेला म ३ मा पढ्थेँ ।
सबै बुबाआमालाई आफ्नो छोराछोरी पढेर केही गरोस् भन्ने हुन्छ । तर तपाईंले मान्छे कुट्ने खेललाई आफ्नो पेशाको रुपमा अपनाउँछु भन्दा परिवारले केही भन्नु भएन ?
म सानैदेखि एकदमै चुलबुली थिएँ । खेल्न मन पराउने ।
मेरो नेचरलाई हेरेर नै बुबाले आफै मलाई तेक्वान्दोको ट्रेनिङमा पठाउनु भएको हो ।
तेक्वान्दोलाई पहिलेदेखि नै अनुशासित खेल मानिन्थ्यो साथै सेल्फ डिफेन्स कला पनि सिक्ने भएकाले मलाई परिवारको पूरै ‘सर्पोट’ थियो ।
महिलाको करियरमा विवाहपछि समस्या आउँछ भन्ने कुरा छ । झन् यो खेल क्षेत्रका महिलाहरुको करियरमा पुर्णविराम नै लाग्छ भन्छन् । तपाईंको जीवनमा कतिको लागू भयो यो कुरा ?
यसमा चाहिँ मैले आफूलाई भाग्यमानी नै मान्नुपर्छ ।
मेरो श्रीमान् आफै एउटा खेलाडी भएकाले मैले त्यस्तो दुःख भोग्नुपरेन ।
उहाँले पहिला नै आफ्नो परिवारलाई खेलकुद पनि सम्मानित क्षेत्र हो भनेर सम्झाइसक्नु भएको थियो ।
त्यसैले बुहारी पनि खेलाडी भएको विषयलाई लिएर परिवारमा कहिल्यै अप्ठेरो परिस्थिति सिर्जना भएन ।
उहाँहरुले त बच्चा भईसकपछि पनि खेल्न जाउ भन्नु हुन्थ्यो ।
मेरो पहिलो बच्चा भएको नौ महिनादेखि नै मैले आफ्नो ट्रेनिङ पुनः सुरु गरेको थिएँ ।
२०१० मा साउथ एशियन गेममा नेपालको लागि पहिलो पटक गोल्ड मेडल ल्याउनु भयो । जित्दा कस्तो अनुभव भयो ?
अन्तराष्ट्रिय स्तरको खेलमा स्वर्ण पदक ल्याउनेलाई रथ यात्रा गराएर सम्मान गरिन्थ्यो ।
जसरी पनि रथ यात्रा गरेरै छोड्छु भन्ने अठोट लिएको थिएँ ।
तर सन् २००६ को गेममा मैले नराम्ररी हार बेर्होनुप–यो । साह्रै नराम्रो लाग्यो ।
दिपक जी ले चाहिँ रथ यात्रा गर्न पाउनुभयो ।
‘तैंले त रथ चढ्न पाइनस्, मैले मात्र पाए्ँ’ भन्दै धेरै जिस्काउनुभएको थियो त्यतिबेला मलाई ।
सन् २०१० को गेममा जसरी पनि गोल्ड मेडल जितेर रथ चढ्छु भनेर आफैंले आफैँलाई वाचा गरेँ ।
दिन दुई गुना, रात चौगुना मिहिनेत गर्न थालेँ । परिणामस्वरुप मैले जितेँ ।
जितेको क्षणमा भन्दा पनि रथ चढ्न पाउँदा झनै खुसी लागेको थियो ।
अब आयषाको जीवनमा के हुन्छ ?
अहिले त मेरो परिवार र मेरो बाबुहरुको हेरचाहमै लागिपरेको छु ।
तर खेलबाट टाढा रहेर चाहिँ बस्दिन । वा भनौँ बस्नै सक्दिन ।
ठूलो छोरा जन्मेपछि केही महिना विश्राम लिएको थिएँ ।
त्यति बेला ट्रेनिङ गर्न नपाउँदा, खेल्न नपाउँदा हात खुट्टा थर्रर काम्थ्यो ।
अहिले पनि निक्कै भयो खेल्न नपाएको । के नभए, के नगरे जस्तो भइरहन्छ ।
कान्छो छोरा सानै छ । ऊ अलिक ठूलो भएपछि फेरि खेल क्षेत्रमा प्रवेश गर्नेछु ।
आयषा तेक्वान्दोबाट टाढा रहने कुरै भएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया