काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहिबार सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७७–०७८ को मुनाफा रकम मध्येबाट कम्पनीका सेयरधनीहरुलाई प्रत्येक १०० कित्ता सेयर बराबर २० कित्ताको अनुपातमा बोनस सेयर र प्रतिसेयर २० रुपैयाँका दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।
सभामा करिब ९२ प्रतिशत सेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७७–०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७–०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।
यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८–०७९ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेश गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पीयूष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजहरुको पारिश्रमिक तथा नियुक्तिका अन्य शर्तहरु निर्धारण गरेको छ ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले साधारणसभामा उपस्थित सेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको चौधौं वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै सेयरधनीहरूको अटुट विश्वास, उपभोक्ताको भरोसा एवं सद्भाव, कम्पनीमा कार्यरत कर्मचारीहरूको अथक परिश्रम र अन्य सरोकारवालाहरूको सहयोगका कारण देशकै अग्रणी दूरसञ्चार सेवा प्रदायकको रूपमा कम्पनी स्थापित भएको बताए ।
उनले उपभोक्ताको अपेक्षा अनुरूप सुलभ, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल, अग्रणी संस्थाको रूपमा विकास गर्न सबैबाट प्राप्त सहयोग, सद्भाव, विश्वास र रचनात्मक सुझावका लागि हार्दिक आभार प्रकट गरे । कोभिड–१९ को प्रतिकूल अवस्थामा पनि कम्पनीले आफ्नो सेवालाई कुशलताका साथ प्रवाह गर्दै आएको, महामारीकै कारण कोही पनि सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ग्राहकलाई थप सहुलियत प्रदान गर्ने गरी विद्यमान महशुलमा छुट दिनुका साथै जरिवाना समेत मिनाहा गरेको र विश्वमा विकास भएको नवीनतम र आधुनिक दूरसञ्चार प्रविधिको प्रयोग गरी आफ्नो सेवालाई थप गुणस्तरीय बनाउन कम्पनी प्रतिबद्ध रहेको बताए ।
आर्थिक वर्ष २०७७–०७८ मा कम्पनीबाट गरिएका विभिन्न कार्यलाई राष्ट्र निर्माणमा योगदान, सामाजिक क्षेत्रमा योगदान, संस्थागत सुशासन तथा जोखिम व्यवस्थापन, व्यावसायिक सफलता, सेवा विस्तार तथा गुणस्तर सुधार, व्यावसायिक रणनीति र संस्थागत सुधार जस्ता विभिन्न शीर्षकमा विभाजन गरी उहाँले विस्तृत रुपमा जानकारी प्रदान गरे ।
कोभिड–१९ महामारीको समयमा कम्पनीले विद्युतीय कारोबारमा सहयोग गर्न महत्वपूर्ण भूमिका खेलेको र नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका समयमा कम्पनीले सहुलियत दरमा विभिन्न प्याकेज उपलब्ध गराएको बताउँदै अध्यक्ष अर्यालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण, स्वास्थ्य, खेलकुद, शिक्षा लगायतका क्षेत्रहरूमा निरन्तर सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे ।
प्रविधिमा भएको विकास र परिवर्तनसँगै विश्वमै भ्वाइस सेवाको व्यापार क्रमशः डाटा तथा अन्य भ्यालु एडेड सेवामा रूपान्तरण हुने क्रममा रहेको, बढ्दो प्रतिस्पर्धाका कारण व्यापार प्रबद्र्धनको लागि प्रतिस्पर्धी मुल्यमा सेवा उपलब्ध गराउनुपर्ने वाध्यता विद्यमान रहेको अवस्थामा समेत कुल राजस्व र खूद नाफा क्रमशः ४२ अर्ब २१ करोड र सात अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया