काठमाडौं । एक सय ७७ वटा बैंक तथा फाइनान्स कम्पनीहरुको इजाजत खारेज भएको छ । राष्ट्र बैंकका अनुसार मर्जर तथा प्राप्तीमा सामेल भएकै कारण यति ठुलो संख्यामा बैंक तथा फाइनान्स कम्पनीहरुको इजाजत खारेज भएको हो ।
यसरी मर्जर तथा प्राप्ती हुँदा एक सय ७७ वटा संस्थाहरुको इजाजत खारेज हुन गई ६२ संस्था कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७८ फागुन मसान्तसम्म कुल दुई सय ३९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर, प्राप्ति प्रक्रियामा सामेल भएपछि यति ठुलो संख्यामा बैंक तथा वित्तीय संस्थाहरुको अनुमती खारेज भएको हो ।
वित्तीय पहुँचतर्फ भने कुल सात सय ५३ स्थानीय तहमध्ये चालु आवको फागुन मसान्तसम्ममा सात सय ५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७७ फागुनसम्म सात सय ४९ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या भने एक सय २८ वटा पुगेको छ । सोमध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६६ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार छ सय ८३ वटा रहेकोमा चालु आवको फागुन मसान्तसम्ममा ११ हजार तीन सय ४९ वटा पुगेको राष्ट्र बैंकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया