काठमाडौं । वर्ष २०७८ काे अन्तिम कारोबारको दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से ३० दशमलब २४ अंकले बढेर २४१५ दशमलव २५ बिन्दुमा बन्द भएको छ । २०७८ को पहिलो दिन नयाँ रेकर्ड राख्दै खुलेको बजार अन्तिम दिन पनि हरियाली भएर बन्द भएको छ । निरन्तर घटिरहेको बजार आज हरियोमा बन्द हुँदा लगानीकर्तामा केही राहत महसुस भएको छ ।
हरियाली बनेर यस वर्षलाई बिदाई गरेसँगै अर्को वर्ष सकारात्मक माहोल देखिने लगानीकर्ताले अनुमान गरेका छन् । बुधबारको दिन बजारमा २२९ वटा कम्पनीको सेयर कारोबार हुँदा १८५ वटा हरियो, ३२ वटा रातो र ११ वटा स्थिर छन् । कारोबारको रकम भनि मंगलबारको तुलनामा भन्दा पनि कमि आएको छ । बुधबार २२९ वटा कम्पनीको २८ हजार ९४५ वटा कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ४७ करोड बराबरको भएको छ ।
अत्याधिक बढ्नेमध्ये अन्य समूह २ दशमलव २८ प्रतिशत, माइक्राे इन्डेक्स २ दशमलव १४ प्रतिशत र होटेल इन्डेक्स १ दशमलव ५८ प्रतिशतले बढेको छ । आजपनि नेष्डो लघुवित्तको सेयरमूल्य भने १० प्रतिशतले बढेर २२६२.७ मा अन्तिम कारोबार भएको छ । यसैगरी अत्याधिक बढ्नेमध्ये आरएमडिसी लघुवित्त ८ दशमलव ९८ प्रतिशतले बढ्दा १०४२, राष्ट्र उत्थान लघुवित्त ७ दशमलव १९ प्रतिशतले बढ्दा १४००, मिथिला लघुवित्त ६ दशमलव ४९ प्रतिशतले बढ्दा १५००, स्वावलम्बन लघुवित्त ६ दशमलव ३ प्रतिशतले १२१५ मा र जाल्पा लघुवित्त ६ दशमलव ११ प्रतिशतले बढ्दा अन्तिम कारोबार ५२१ मा भएको छ।
यसैगरी, अत्याधिक घट्नेमध्ये युनाइटेड इदी मर्दी हाइड्रो २० अंक घट्दा ९४८ मा नयाँ शारथी लघुवित्त १९ अंक घट्दा ९८० मा र शिवश्री हाइड्रो ४ अंक घट्दा २९६ मा अन्तिम कारोबार भएको छ । अत्यधिक कारोबार हुनेमध्ये शिवम् सिमेन्ट आठ करोड ४३ लाख बराबरको र अरुण हाइड्रो पावर पाँच करोड २१ लाख बराबरको भएको छ ।
यस वर्षको पहिलो कारोबार दिन बैशाख २ गते नेप्से २० अंकले बढेर २७३५ बिन्दुमा पुगी अलटाइम हाइ रेकर्ड राखेको थियो । यस बीचमा धेरै उतारचढाव सामना गरेको सेयर बजार अन्तिम दिन हरियाली भएर यस वर्षलाई बिदाई गरेको छ । समग्रमा यस वर्ष सेयर बजारका लागि ऐतिहासिक वर्ष बन्यो । यस वर्ष नेप्से ३२ सयको बिन्दुमा पुग्यो भने एकै दिन २२ अर्ब रुपैंयाको कारोवार भएर किर्तिमान् समेत बनायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया