साताको सेयर बजार : नेप्से ४९.०७ अंकले घट्यो

लोकपथ
0
Shares

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचकमा पछिल्लो एक सातामा ४९ दशमलव ०७ अंकले गिरावट आएको छ । नेपाली सेयर बजार चालू आर्थिक वर्षको सुरुवातसँगै उतारचढाव भइरहेको छ ।

अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन विहीबार पाँचौ दिनको लगातार ओरालो लागेको नेप्से ३५ दशमलव ६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

यो साताको पहिलो दिन आइतबार सार्वजनिक विदा भएकाले सेयर बजार पनि बन्द भयो । साताको तीन दिन मात्रै कारोबार भएको छ । तीन दिन भएको कारोबारमा दुई दिन उच्च अंकले गिरावट आएको थियो भने एक दिन सामान्य अंकले वृद्धि भएको छ । विहीबार पनि सार्वजनिक विदा भएकाले सेयर बजार बन्द रहेको छ ।

साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक ४४ दशमलव ६४ अंक गिरावट आएर २४१९ दशमलव ८० बिन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंकले घटेको थियो । सोमबार कारोबारमा आएका २३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता सेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

साताको दोस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचकमा ३४ दशमलव ७८ अंक घटेर २३८५ दशमलव ०१ बिन्दुमा झरेको थियो ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५ दशमलव ७६ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ६६ अंकले घटेको थियो । मंगलबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता सेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको थियो । बुधबार नेप्से परिसूचक ३० दशमलव २४ अंक बढेर २४१५ दशमलव २४ विन्दुमा पुगेको छ । जसमा सेन्सेटिभ इण्डेक्स ६ दशमलव ९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २ दशमलव ०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव १३ अंकले बढेको छ ।

बुधबार कारोबारमा आएका २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता सेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?