उदयपुर । उदयपुरको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल रौता र ताप्ली पोखरीमा नयाँ वर्षको दिन आज धुमधामका साथ मेला लागेको छ । प्रत्येक नयाँ वर्षका दिन आन्तरिक पर्यटनलाई प्रर्बद्धन गर्ने उद्देश्यले मेला लाग्ने गरेको हो ।
उदयपुरमा रहेका दुई पर्यटकीय स्थलका रुपमा परिचित रौता र ताप्ली पोखरीमा हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गर्दछन् । पर्यटकीय तथा धार्मिक हिसाबले नयाँ वर्षको दिन आन्तरिक पर्यटकहरु दुई पोखरीमा रमाउन युवा युवतीहरुको लर्को लाग्ने गरेका छन् ।
नयाँ वर्ष मनाउनेहरु यो दुई पोखरीमा नयाँ वर्षको दिन रमाउने गरेका छन् । पर्यटकिय तथा धार्मिक हिसाबले घुम्नै पर्ने मध्येको एक प्रकृतिक सौन्दर्यको ठाउँ हो यो ।
डाँडाको थाप्लोमा गोलाकार पोखरी, पोखरीमा पानी, पानीमा तैरिरहेको कमल । किनारको रुख मुनि रौतामाई । शितल अनि हरियाली । पवित्र एवं शान्त भूमि । रौतापोखरी पुग्दा मन फुरुङ हुन्छ । उत्साहको लहर चल्छ ।
उदयपुरको रौतामाई गाउँपालिका–६ मा पदर्छ रौता पोखरी । यो पोखरी सदरमुकाम गाईघाटदेखि उत्तरी क्षेत्रको समुन्द्री सतहदेखि ५ हजार ९ सय फिट उचाईमा रहेको पोखरी १ बिगाहा क्षेत्रफलमा पैलिएको छ ।
पूर्वको प्रख्यात धार्मिक गन्तव्य रौता पोखरी । पोखरीको दक्षिणमा घना जंगल छ । जंगलको छायाँ पानीमा तैरिन्छ । रौतामाईको मूर्ति भलायोको रुख मुन्तिर छ । त्यहाँ ध्वजापताका, त्रिशुल आदि चढाइएको छ ।
रौतामाई प्रति यस्तो छ जनविश्वास
रौतामाई दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ । मन्दिरका पूजारीका अनुसार देवी भाकेर मनले जे माग्यो त्यो फल प्राप्त हुन्छ । धन लाभ, निरोगिता, सन्तान प्राप्ति, जागिरमा बढुवा लगायत सबै खाले मनोकांक्षा पूरा हुने विश्वासमा बर्सेनी हजारौं तिर्थालु रौता पोखरी पुग्छन् ।
भाकल पूरा भएपछि तिर्थालुहरु बलि लिएर आउँछन् । देवीलाई चढाउँछन् । रौतामाईलाई पाठी र परेवा बलि चढाइन्छ । बोका, भाले र हाँस दिइँदैन । त्यस्तै धुपबत्ति, अबिर, अक्षता, फूल, ध्वजापताका, चुरापोते, त्रिशुल आदि चढाइन्छ । वैशाख १ गतेका दिन मन्दिरमा ठूलो मेला लाग्छ । त्यति बेला पूजापाठ, नाचगान र खानपिन गरिन्छ । पोखरीमा नुहाउन पाइन्न । बाहिरको धारामा नुहाउँछन् तिर्थालु । पोखरीकै पानी ग्यालिनमा झिकेर बाहिर चौरमा आएर नुहाउन भने पाइन्छ ।
किवतन्ती
पुजारी भिमबहादुर राना मगरका अनुसार रौतारानीको महिमाका विषयमा एउटा घटना सुनाए ३६ वर्ष भएछ, पूजारी बनेको । वि।सं। १९६४ मा रुम्जाटार, ओखलढुंगाका भुजुङ गुरुङ सयौं भेडा लिएर यही बाटो हिँडेका रहेछन । त्यतिबेला उनका ५ सय भेडा हराए छन् । भेडा हराएपछि उनले धुई धुई रौता वरिपरि खोजेछन, तर भेटिएन । त्यसपछि गुरुङले बुढापाकालाई सोध्दा ‘रौताको शरणमा जाउँ, भेटिन्छन’ भनेछन् । भुजुङ रौतादेवीको शरणमा पुगे । ‘मेरा भेडा देखा पार्दिनु देवी म यहाँ मन्दिर बनाउँछु’, उनले आँखा चिम्म गरेर याचना गरेछन् । त्यहिबेला भेडा कराएको आवाज सुनियो । नभन्दै सबै भेडा फेला परेछन् । त्यसबाट खुशी भएर उनले ढुंगाको सामान्य मन्दिर बनाई दिएपछि उनका नातिले वि।सं २००७ सालमा ठूलो मन्दिर बनाए । तीसको दशकमा तिनै नातीले दिएको ३० हजार रुपैयाँले मन्दिर व्यवस्थित गरिएको पूजारीबा सुनाउँछन् ।
हिँडेर पोखरीको फन्को मार्न १० मिनेट जति लाग्छ । रौतापोखरी क्षेत्र पानीको मुहान पनि हो । यसबाट पूर्वमा अँधेरी खोला, पश्चिममा त्रियुगा खोला, उत्तरमा राँकुली तथा रसुवा खोला र दक्षिणमा बरुवा खोला बग्छन् । पश्चिमपट्टिको त्रियुगा खोलामा अन्य साना–ठूला खोला मिसिंँदै जाँदा त्रियुगा नदी बन्छ र अनि तल तराईमा बग्दै जाँदा तपेश्वरी र ओद्राहको बीचमा सप्तकोशीमा पुगेर मिसिन्छ । अनौठो कुरा–छेउमा त्यति ठूलो जंगल भएता पनि पोखरीमा एउटा पात पनि देखिँदैन । पात खस्यो कि चराले टिपेर किनारा लगिहाल्छ रे पानीमा पात पर्ना साथ गुलाबी सिउँर भएका चराले चुच्चोमा च्यापेर घाम झुल्किनु अघि नै बाहिर फाल्छन् भन्ने सुनाए पूजारीले । वर्षैभरि घुम्न सकिन्छ रौतापोखरी । बिशेषतः फागुनदेखि बैशाखसम्म चहलपहल बढी हुन्छ । अरु बेला फाट्टफुट्ट आउँछन् तिर्थालु । हरेक औंसी, एकादशी, आइतबार र साउनमा मन्दिरमा पूजा चल्दैन ।
उनका अनुसार प्रत्येक वर्ष मेला भर्न र रौतारानी मन्दिरको दर्शन गर्न आउने आन्तरिक पर्यटनको संख्यामा भने बृद्धि हुदै गएको टिप्पणी गरे । सदरमुकाम गाईघाटबाट करीब ४० किलो मिटर उत्तरी भेगको साबिक आँपटार गाविस– ९ हाल रौतामाई गाउँपालिका– ६ मा रौतापोखरी पर्दछ ।
गाईघाटबाट करिब ३ घण्टामा यातायातको साधानबाट यात्रा गरेपछि पुग्न सकिने भएकाले पनि यस वर्ष विगतको तुलनामा धेरै नै मानिसहरु त्यहा पुग्ने अनुमान गरेका छन । गोलो बगाकार रुपमा फैलिएको रौता पोखरीको किनारमा मै रौतारानीको मन्दिर रहेको छ । जसमा परेवा र पाठी बलि दिने प्रचलन रहेको पाईन्छ । वर्षैदेखि नसुकेको रौता पोखरी जलवायु परिर्वतनका कारण केही वर्ष यता देखि भने सुक्ने गरेको पाइन्छ । लामो समय सम्म पानी नपरेर सुख्खा खरेडी परेकाले पनि पोखरीमा पानी सुनेको हो ।
मूल पुरोहितका अनुसार कहिले नसुक्ने रौता पोखरी २०५८ सालमा तत्कालिन राजा वीरेन्द्रको बंशनास भएको वर्ष सुकेको त्यो भन्दा अगाडी कहिले नसुकेको उनको भनाई थियो । रौता पोखरी सम्म जाने बाटोको स्तरोउन्नती नहुदा यात्रुहरु जोखिम पूर्ण तरीकाले यात्रा गर्न बाध्य छन् । बाटोको कारण रौता पोखरीमा सोचे अनुसारको तीथ्र यात्रीहरु आउन नसकेको स्थानीयबासीहरुको भनाई रहेको छ । गाईघाटबाट पर्यटकीय क्षेत्र रौता पोखरी सम्म मोटर बाटो पुगेको भए पनि सडकको स्तरउन्नतिको काम नहुदा जोखिम पूर्ण यात्रा गर्नु पर्ने बाध्यता रहेको गाईघाटको स्थानीय पत्रकार भक्तिबिलास पोखरेलको गुनासो छ ।
उनका अनुसार रौता पोखरीमा स्वच्छ खानेपानीको अभाब र मेलालाई ब्यवस्थित रुपमा संचालन गर्न नसकेको टिप्पणी गरे । मेलामा विभिन्न साँस्कृतिक झाँकीहरु प्रस्तुत गर्नुका साथै साँगितिक कार्यक्रमहरु पनि प्रस्तुत गरिने तयारी भई रहेको र रौतापोखरी नजिकै निकासमा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि होम स्टे« सञ्चालनमा ल्याएको छ ।
पर्यटकीय महत्व
धार्मिक आस्था बोक्नेहरुका लागि त रौतापोखरी ‘ड्रिमल्याण्ड’ नै बन्न सक्छ । प्रकृति, संस्कृति, जीवनशैली र जैविक विविधतामा रमाउन चाहनेका लागि पनि आकर्षक गन्तव्य बन्नेमा शंका छैन । चुरे उपत्यका गाईघाटमा बस्नेहरु हुन् कि अलिपर राजविराज वा लाहानतिर बस्नेहरु, उनीहरुलाई गर्मी छल्ने गन्तव्यका रुपमा रौतामा ल्याउन सकिन्छ । पोखरीबाट १ घन्टा उकालो चढि ९२,१०० मिटर० मा पुगेपछि रमाईलो खर्क भेटिन्छ त्यहाँबाट तपाईका फाँटहरु देख्न सकिन्छ । डाँडाबाट हिमालको लामो लस्कर देखिन्छ ।
अतिथिलाई होमस्टेको सुविधा
रौतापोखरीको बेस क्याम्प निकास गाउँका ११ घरमा होमस्टे सुविधा छ । होमस्टेबाट १० मिनेट उकालो चढे पुगिन्छ रौता पोखरी । रौतापोखरीको बेस क्याम्पमा अबस्थित निकास गाउँमा बाहुनका २ र राईका ९ गरी जम्मा ११ घरमा होमस्टे सुविधा छ । त्यहाँ ०७१ सालदेखि होमस्टे सुविधा दिन थालिएकोछ । गज्जब कुरा के छ भने अन्यत्र पहिला होमस्टे सुरु हुन्छ अनि पर्यटक बढ्दै जाँदा आधुनिक सुविधायुक्त होटल खुल्छन् । तर, निकास गाउँमा सुरुमा सामान्य होटल खुलेपछि होम स्ट्रे खुलेका हुन । ससाना होटललार्ई होमस्टेमा रुपान्तरण गरिएको हो । होटलको बोर्ड राखेर चलाउँदा भन्दा होमस्टेका रुपमा सञ्चालन गर्दा सेवा र सुविधा बढी दिन सकिएको रौतामाई निकास सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष जितशेर राई (विजय) बताउँछन् । होमस्टेका रुपमा ब्राण्डिङ गर्नु अघि यहाँका होटलले सामान्य खाना र बास सुविधा दिन्थे । राईका अनुसार कतिपय तिर्थालु आफैं चामल र तरकारी बोकेर आउँथे । होटलवाला पकाइ दिन्थे । त्यसको ज्याला लिन्थे । अचेल त्यसरी खाद्यान्न बोकेर आउँदैनन् । होमस्टेका रुपमा अघि बढेपछि खाना बनाउने र अतिथि सत्कार तालिम पाएपछि उनीहरुको गुणस्तर बढेको छ ।
होमस्टेमा एउटा घरमा ६ जना बस्न सक्छन् । लोकल चामल, तरकारी, पिठो र कुखराबाट परिकार लगायत यहाँको विशेष खाना हो । अडर अनुसार ढिडो पनि बनाउने गरेको छ । होमस्टेका संचालकहरुका अनुसार आउनु भन्दा अगाडी खबर गरेमा बालन, साकेला र रोधीको स्वाद पनि चाख्न पाइन्छ ।
डिपिआर सम्पन्न, केबलकार सञ्चालन गर्ने योजना
रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार गाउँपालिकाको प्रमुख धार्मिक गन्तव्य रौता पोखरीको गुरु योजना र डिपिआर सम्पन्न भएको बताए । त्यही अनुसार पूर्वाधार निर्माणमा पुरातत्व भल्किने मन्दिरको निर्माण गर्ने योजना समेत रहेको छ । यस्तै पोखरीको झार हटाउने, सुख्खा वाल लगाउनेसम्मको काम हुने छ । स्थानीय र प्रदेश सरकारबाट बजेट छुटिएर केही कामहरु बनाउन शुरु गरिएको बताए । उनले भने, ‘बेलदोभानबाट रौतासम्म केबलकार सञ्चालन गर्ने विषयमा त्रियुगा नगरपालिकासँग हामी सहकार्य गरेका छौं । रौता पोखरीको मात्र होइन उदयपुरकै अग्लो भूमि चित्रेको पर्यटन विकासमा समेत हामी जुटेका छौं । दुबै ठाउँलाई हामी नमूना गन्तव्य बनाउँछौं ।’ उनका अनुसार बैशाख १ गते मेला लगाउने जिम्मा स्थानीय युवाहरुलाई दिइएको छ ।
थुम हेर्न ताप्ली पोखरी
प्राकृतिक सौन्दर्यले सिँगारिएको तथा धार्मिक महत्व बोकेको ताप्ली पोखरी साविक सगरमाथा अञ्चल हाल १ नं। प्रदेश उदयपुर जिल्लामा अवस्थित छ । उदयपुरको एक प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको यो पोखरी कटारी नगरपालिकाबाट कच्ची बाटो हुँदै ४–५ घण्टाको यात्रामा पुगिने उत्तरको डाँडा ताप्ली गाउँपालिका– २ ताप्ली पोखरी वा रानी पोखरीको नामले प्रख्यात रहेको छ । यो पोखरीले प्राकृतिक सुन्दरता, धार्मिक गाथा एवं पर्यटकीय महत्वलाई समेटेको छ ।
समुन्द्री सतहबाट १ हजार ८ सय मिटर उचाइमा रहेको ताप्ली पोखरी ५ बिगाहा क्षेत्रफलमा फैलिएको छ । यो पोखरीमा वर्षैभरि पानी जमिरहन्छ । यो पोखरी हेर्न विभिन्न स्थानबाट पर्यटकहरू आउने गरेका छन् । पोखरीबाट उत्तरमा सगरमाथासम्मका हिमश्रृखला अवलोकन गर्न सकिन्छ । यसैगरी हरियो चउरले भरिएका थुमहरूका कारण पर्यटकहरू रोमाञ्चित हुन्छन् । बाह्रै महिना चिसो हुने यो पोखरीमा पर्यटकहरू गर्मी छल्न पनि पुग्छन् ।
ताप्ली पोखरी ७५ मिटर चौडा तथा ३ सय २० मिटर लामो यो पोखरीको गहिराई ३ मिटर छ । तुसारो परि रहने यो पोखरीको किनारमा अवस्थित पञ्चकन्या मन्दिरमा हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गरेको छ । करिव ७५ मिटर चौडाई र तीन सय मिटर लम्वाई फैलिएको पोखरीलाई पन्चकन्या पोखरी नामले पनि चिनिन्छ । सत्ययुगमा यहाँ पाँचवटा कुवा रहेको र पानी भर्न आएका पाँचवटी कन्या अलप भएपछि पोखरीमा परिणत भएको किंवदन्ती छ । जैविक विविधताले भरिपूर्ण यो पोखरी धार्मिक तथा प्राकृतिक अध्ययनका लागि पनि महत्वपूर्ण छ । सत्य युगमा शिवजीले यहाँका गुफामा बास बसेको किवदन्ती गाउँलेहरु सुनाउँछन् । विशेष गरी नयाँ वर्षका दिन यहाँ भव्य मेला लाग्ने गरेको छ । ताप्ली पोखरीको दक्षिणतर्फ हेर्दा भारतसम्मका सहरहरू अवलोकन गर्न सकिन्छ ।
यो पोखरी किनारमा भ्यू–टावर समेत निर्माण भैरहेको छ । यहाँको आकर्षण प्राकृतिक छटासँगै यहाँका लेक र थुमहरू हुन् । लेक हेर्न पनि पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् । पञ्चकन्या मन्दिरमा पूजाआजा गरे रोगव्याधि निको हुने जनविश्वास छ । ताप्ली पोखरीले १ नं। प्रदेशमा धार्मिक पर्यटकको सम्भावना बोकेको छ । तत्कालीन माओवादीले यो स्थानबाटै पूर्वी डिभिजनको घोषणा गरेको राजनैतिक इतिहास पनि छ ।
त्यसैगरी प्राकृतिक बनावट चित्ताकर्षक छ ७५ मिटर चौडाई र ३ सय २० मिटर लम्बाई भएको यस पोखरीमा सफा मौसमका पुग्दा पोखरीको संङलो पानीमा निलो आकाशको छाया ज्यादै लोभ लाग्दो देखिन्छ । यस पोखरीमा माछा भने पाईदैन । पोखरी करिब ५ बिगाहा क्षेत्रफलमा फैलिएको छ । नयाँ वर्ष बैशाख १ गते विशेष मेला लाग्ने गर्दछ । मेलामा पुजा पाठ गर्ने, भाकल बुझाउने गर्दछ । यस पोखरीमा पुजापाठ गर्दा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहि आएको छ । सौदर्यले भरिपूर्ण पाखरीबाट सगरमाथा, लोत्से लगायतका हिमालहरु समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।
पोखरीमा कटारी नगरपालिका, लिम्चुङ्बुङ, रौतामाई, उदयपुरगढी लगायतका जिल्लाका विभिन्न ठाउँबाट भक्तजन तथा नयाँ वर्षमा मेला भर्न आउने गरेका छन् । घुम्नको लागि अति उपयुक्त ठाउँ भएपनि प्रचारप्रसारको कमी र पहाडको कच्चि सडक भएकाले बाहिरबाट खासै पर्यटकहरु नआउने गरेको स्थानीयले बताएका छन् । आज नयाँ वर्षका दिन राष्ट्रिय हास्य कलाकारहर प्रियजन राई, दिलिप तामाङ ९हुरहुर० र लोक गायत बिनोद दनुवारको साँगितिक कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया