महशुल बिनाकै वृहत व्यापार सम्झौता गर्दै युरोप र जापान

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महशुल थप्ने नीतिले उत्पन्न व्यापार तनाव कम गर्न जापान र युरोपले झण्डै महशुल बिनाकै वृहत व्यापार सम्झौता गर्न लागेका छन् । 

यो सम्झौताबारे गतवर्ष नै टोक्योले सहमति दिएको थियो । यो वर्ष यो सम्झौताको उत्सव मनाइने छ ।

२ सय जनाको ज्यान लिने गरी आएको बाढी र पहिरोका कारण जापानी प्रधानमन्त्री शिन्जो आबे ब्रसेल्समा सम्पन्न नेटो शिखर सम्मेलनमा भाग लिन नसके पछि त्यो उत्सव समारोह ढिला भएको हो ।

युरोपेली  परिषद्का अध्यक्ष डोनाल्ड टस्क र युरोपेली आयोगका अध्यक्ष जीन क्लाउड जन्कर टोक्यो पुगेका छन् ।

यो सम्झौताबाट जापानी उपभोक्ताहरूका लागि युरोपेली मदिरा र सुगुरको मासु सस्तो मूल्यमा उपलब्ध हुनेछ । 

युरोपका लागि जापानी मेसिनरी पार्टपुर्जा , चिया र माछा जस्ता वस्तु सस्तो हुनेछ ।

यो सम्झौताले युरोपका लागि जापानी वस्तुहरूमा ९९ प्रतिशत महशुल हटाउनेछ भने जापानमा युरोपेली सामानहरूमा ९४ प्रतिशत महशुल अहिले हट्ने र आउँदा वर्षहरूमा यो ९९ प्रतिशतसम्म पुग्नेछ ।

यो सम्झौताका साथै जापानले अस्ट्रेलिया, मेक्सिको, भियतनामलगायत अन्य देशहरूसँग पनि यस्तो सम्झौता गर्न लागेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?