‘पण्डित बाजेको लौरी’ लाई प्रिमियरमा तारिफै तारिफ

काठमाडौं । हिजो बुधवार चलचित्र ‘पण्डित बाजेको लौरी’ ले काठमाडौंमा भव्य प्रिमियर ग–यो । उक्त प्रिमियरमा फिल्म युनिट, अन्य कलाकार र पत्रकारको बाक्लो उपस्थिति थियो । रमाइलो कुरा के थियो भने फिल्म झण्डै निर्धारित समयमा प्रदर्शन गरिएको थियो । 

फिल्मका कार्यक्रम निर्धारित समयभन्दा ढिलो हुने चलन भएपनि यो फिल्ममा भने समयमै प्रदर्शन भएको थियो ।

प्रिमियरपछि अतिथि तथा पत्रकारले फिल्म राम्रो भएको प्रतिक्रिया दिए । खासगरी फिल्मको कथाले दर्शकको मन छोएको छ ।

फिल्ममा अभिनय गरेका मुख्य कलाकारको अभिनयको तारिफै तारिफ भएको छ । निर्देशक दीपक ओलीको कामलाई पनि तारिफ गरिएको छ ।

फिल्ममा बदिनीको भूमिकामा देखिएकी सन्ध्या केसीले कामको प्रशंसा पाएकी छिन् । त्यस्तै विजय बराल, मरिष्का पोखरेल, प्रविण खतिवडा लगायतका कलाकारको अभिनयले पनि प्रशंसा पाएको छ ।

साथै प्रिमियरमा उपस्थित पत्रकार तथा अतिथिले लामो समयपछि राम्रो फिल्म हेर्न पाएको बताए । सन्ध्या केसी आफ्नो कामको तारिफ भएको देखेर निकै भावनात्मक देखिन्थिन् ।

कतिपयले फिल्म ‘ट्रेलरभन्दा निकै राम्रो’ भएको प्रतिक्रिया दिए । फोटोग्राफर आर्यन बिमलीले फिल्म हेरिसकेपछि प्रतिक्रिया दिँदै भने, ‘लामो समयपछि एउटा राम्रो फिल्म हेर्न पाइयो । फिल्मले मन छुन्छ, यसको स्किृप्ट बलियो लाग्यो ।’

फिल्मले कमेडीसँगै वादी प्रथाको विरोध गरेको छ भने समाजलाई प्रत्यक्ष सन्देश दिएको छ । 

एक गाउँमा हुने पण्डित्याइँ वरिपरिको कथा समेटिएको ‘पण्डित बाजेको लौरी’ भोलि शुक्रवारदेखि नेपालभर रिलिज हुँदैछ । फिल्मलाई युवा निर्देशक दीपक ओलीले निर्देशन गरेका हुन् भने महेश दवाडीले फिल्म लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?