काठमाडौं । मिस नेपाल-२०२२ को लागि आवेदन खुला भएको छ ।
सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक द हिडन ट्रेजरले वैशाख ३१ गतेसम्म आवेदन खुला गरिएको जनाएको हो । यसपटकको संस्करणमा भाग लिने प्रतियोगिताको मापदण्डमा केही परिवर्तन गरिएको छ ।
यसपटक प्रतियोगीको उचाइ १ इन्च घटाएर ५ फिट ३ इन्च तोकिएको छ भने प्रतियोगीको उमेर पनि १८ वर्षदेखि २७ वर्ष कायम गरिएको छ । यसपटक सुप्रान्यासनल टाइटललाई पनि हटाइएको छ । बढीभन्दा बढी प्रतिस्पर्धीलाई सजिलो होस् भनेर केही नियममा परिवर्तन गरेको र मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल टाइटललाई निरन्तरता दिइएको आयोजकले जनाएको छ । केही प्राविधिक कारणले सुप्रान्यासनल टाइटललाई हटाउनुपरेको आयोजक द हिडन ट्रेजरले बताएकोछ ।
यसपटक सातै प्रदेशमा अडिसन लिइने भएको छ । वीरगञ्ज, धरान, नेपालगञ्ज, पोखरा, सुर्खेत र काठमाडौंमा अप्रिल २२ देखि मे १० सम्म अडिसन चल्ने भएको छ ।
सबै जात, धर्म र सम्प्रदायका युवतीले मिस नेपालमा भाग लिन सक्ने छन् भने मिस नेपाल निःशुल्क हुनेछ ।
असार ४ गते ललितपुरको गोदावरीस्थित तीन हजार दर्शक अट्ने सनराइज कन्भेन्सन सेन्टरमा मिस नेपालको ग्रान्ड फिनाले हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया