काठमाडौँ : ‘करोडौँ मुटुहरुको ढुकढुकी नेपाल’ जस्ता अमर गीतका गायक स्वर्गीय अरुण थापामगरको उचित सम्मान हुन नसकेको श्रजकहरूले बताएका छन्।
नेपाली सांगीतिक क्षेत्रका चम्किला नक्षत्र स्व. अरुणको १९ औँ स्मृति दिवसको अवसरमा अरुण स्मृति संगीत पुरस्कार–२०७४ वितरण समारोहमा उनीहरूले स्व. अरुणको स्मृति दिवस मनाउन सरकारले कुनै चासो नदिएको गुनासो गर्दै मगर विद्यार्थीले आफ्नो गोजीको पैसा संकलन गरेर विसं २०६१ देखि उहाँको स्मृति दिवस मनाउँदै आएको बताए ।
विसं २००९ साल माघ ११ गते भारतको कलकत्तामा जन्मनुभएका स्व. थापाको पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनका बेलादेखि सांगीतिक क्षेत्रमा झुकाव बढ्दै गएको थियो ।
विसं २०२८ मा ‘जति माया गरे पनि जति कसम खाए पनि’ भन्ने गीत रेडियो नेपालमा रेकर्ड भएपछि अरुणको चर्चा चुलिन शुरु भएको हो ।
विभिन्न देशभक्तिपूर्ण गीतले उनलाई साच्चिनै अमर बनायो भने ‘ऋतुहरुमा तिमी’,तथा ‘साँझको जुनसँगै आउँछ तिमी भनेर’ जस्ता १५० भन्दा बढी कर्णप्रिय गीतले थापालार्इ विर्सनै नसकिने स्रोताको ढुकढुकी बनायो ।
विसं २०५६ साउन ५ गते ४७ वर्षको उमेरमा फोक्सोको क्यान्सरको रोगबाट उनको अल्पायुमै असामयिक निधन भयो । कार्यक्रममा नेपाल मगर संघका पूर्वअध्यक्ष यमबहादुर बुढामगरले लोकप्रिय गायिका धनकुमारी थापामगरलाई नेपाली गीत संगीत क्षेत्रमा योगदान गरेको भन्दै अरुण स्मृति संगीत पुरस्कार–२०७४ बाट सम्मान गर्नुभयो । पुरस्कारको राशी रु १० हजार नगद तथा प्रमाणपत्र रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया