काठमाडौं । आगामी फागुन २५ गतेदेखि चैत ४ गतेसम्म काठमाडौं र पोखरामा १३ औं दक्षिण एशियाली खेलकुद ‘साग’ हुने भएको छ ।
दक्षिण एशियाली ओलम्पिक कमिटीको शनिबार बसेको बैठकले क्रिकेट र प्याराग्लाइडिङ समावेश गरी खेल संख्या २७ पुर्याएको थियो ।
यसअघि १२ औं सागमा समावेश भएको २३ खेलका अलावा कराते र गल्फ समावेश गर्ने निर्णय भएकोमा शनिबारको बैठकले थप २ खेल समावेश गरेको थियो । दक्षिण एशियाली खेलकुदमा प्याराग्लाइडिङ पहिलो पटक समावेश गरिएको हो भने क्रिकेट दोस्रो पटक समावेश गरिएको हो ।
यसअघि सन् २०१० मा ढाकामा सम्पन्न भएको ११औं दक्षिण एशियाली खेलकुदमा पहिलो पटक क्रिकेट समावेश गरिएको थियो । यू–२१ टिमबीच प्रतिस्पर्धा गराइएकोमा यसपालि ओलम्पिक टिम अर्थात यू–२३ टिमले सहभागिता जनाउनेछ । जुन खेलमा ३ जना सिनियर टोलीका खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ ।
क्रिकेट महिला र पुरुष दुवै खेलाइने बताइएको छ। यसपालिको ‘साग’मा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले क्रिकेट र प्याराग्लाइडिङ समावेश गरिएको आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन् ।
बैठकले सहभागी २७ खेलका ३ सय १५ इभेन्ट निर्धारण गरेको छ । जसमा स्वीमिङमा ४१, एथ्लेटिक्समा ३८, तेक्वान्दोमा ग्यारोगी र पुम्से गरी २१, करातेमा १८, जुडोमा १५ इभेन्ट समावेश गरिएका छन् ।
बैंठकले दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बिधान संशोधन प्रक्रिया पनि अघि बढाएको अध्यक्ष श्रेष्ठले बताए । सन् १९८४ मा बनेको काउन्सिलको बिधानलाई समयसापेक्ष परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी तथा एशियाली ओलम्पिक कमिटीको ढाँचामा बिधान संशोधनको तयारी गरिएको छ ।
बिधान संशोधनका लागि अगष्ट १० सम्म सुझाव संकलन गरिने र अगष्ट १९ मा इण्डोनेसियाको जाकार्तामा बस्ने काउन्सिलको बैठकले अन्तिम निर्णय लिने अध्यक्ष श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद लगायतका सरोकारवाला निकायहरुले ‘साग’ खेलकुद तोकिएकै मितीमा आयोजना हुने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया