पानी नपर्दा प्रदेश ७ मा धानबाली सुक्न थाल्यो

धनगढी : यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । 

आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो । 

रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको स्थानीय किसान जंगवीर चौधरीले बताए । “बोरिङबाट पानी तानेर धान रोपाइँ गरियो, किसान जंगवीरले भने, “वर्षा नहुँदा देखिएको खडेरीले धान सुकेर जाने चिन्ता लागेको छ ।” खास गरी प्रदेशका पहाडी जिल्लाको तुलनामा धान उत्पादनका प्रमुख जिल्ला तराईका कैलाली र कञ्चनपुरको धान बालीलाई पुग्ने गरी मनसुनी वर्षाको अभाव भएको छ । 

पहाडका जिल्लाबाहेक तराईको जिल्ला कैलालीमा ७१ हजार २५० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४५० हेक्टर जग्गामा धानबालीको खेती हुने गरेको छ । यस क्षेत्रमा मनसुनी वर्षा साउन लाग्दासम्म पूर्णरुपमा सक्रिय हुन नसकिरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयका प्रमुख एपी चौरसियाले बताए । 

यसपालि धेरै पानी नपर्ने कमजोर मौसम देखिएको चौरसियाले बताउनुभयो । यस क्षेत्रमा गएको असार १८ गते ९८ मिलिमिटर र २० गते ५१ मिमि वर्षा भएको रेकर्ड भएको थियो । 

यो दुई दिनबाहेक त्यसपछि धानबालीलाई पुग्ने गरी ठूलो वर्षा हुन सकेको छैन । प्रदेश नं ७ मा यस वर्ष जेठ २५ गते मनसुन भित्रिएको भए पनि कमजोर मनसुन रहेको चौरसियाले जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?